onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

राजनीतिमा युवा आवश्यकता

Sambad ADD long

नेपालका हरेक राजनीतिक आन्दोलन र परिवर्तनको संवाहक भनेका युवा शक्ति नै हुन् । नेपाली राजनीतिका हरेक कालखण्डमा परिवर्तनका लागि युजाहरु स्वस्फुर्त ढंगले परिचालित भएका छन् । सम्पूर्ण राजनैतिक पार्टीको शक्ति प्रदर्शनका ढाल बनेर आन्दोलनको मोर्चा कमाण्ड गर्ने, नेताहरुलाई सुरक्षा दिने साथै राजनैतिक दल र नेताको समर्थन र विरोधमा म्यादी बनी अग्रपंक्तीमा उभिने पनि युवा शक्ति नै हुन् ।

युवा शक्ति यो देशको भविष्य हुन् भन्ने राजजितिक दलले अन्ततः युवालाई अवसर र जिम्मेवारी दिने विषयमा कमजोर प्रस्तुतीकरण गरेका छन् । जेलनेल भोगेका, कपाल फुलेका र पूर्ण राजनीतिमा आश्रित ब्यक्तिमात्र राजनीतिमा परिपक्व हुन्छ भन्ने आम धारणाले नै युवाहरुलाई राजनैतिक अवसर र अर्थपूर्ण सहभागिताको बाधक बनेका छन् ।

प्राज्ञिक युवाहरुको राजनीति प्रति लगाब कम हुनु र बढ्दो वितृष्णाले समेत नेपाली राजनीतिमा युवा सहभागिता न्यून देखिन्छ । यसकोा मुल जड भनेकै अस्तित्वमा रहेका राजनैतिक दलका क्रियाकलाप नै हुन् । राजनीतिक आरक्षणमा मौलाएको गुण्डागर्दी, भ्रष्टाचार, ठेकदारी, सरुवा बढुवा तथा सामाजिक अपराधमा राजनीतिक संरक्षण जस्ता क्रियाकलापले पनि युवा र शिक्षित वर्गहरुलाई राजनीति प्रति क्रमिक वितृष्णा जगाई रहेको छ । जसका कारण देश निर्माणका खम्बा युवा र शिक्षित वर्ग आज राजनीतिक चासो र उपस्थिती भन्दा धेरै टाढा रहेका छन् । परिणाम स्वरुप अयोग्य, अशिक्षित र नेतृत्वबिहिन ब्यक्तिहरु केन्द्र र शक्तिमा छन्, जसलाई बदल्न समेत युवा सहभागिताको आवश्यकता छ ।
राजनीतिमा युवाहरुको प्रवेशले मात्र देश समृद्ध हुने होइन तर समृद्ध देशको आधार कोर्नका लागि विचारमा नयाँपन, अध्ययनशिलता, बैचारिक, तार्किक, देशप्रति जिम्मेवार, कर्तब्यनिष्ठ, स्वावलम्बी र सचेत युवाहरु राजनीतिमा आउन जरुरी छ ।

नेताहरुको वरिपरी घुम्ने, चाकडी र चाप्लुसी गर्ने, गुट–उपगुटमा रमाउने, राजनैतिक सफलताका लागि छोटो बाटो बनाउन नेताको भक्तिगान गाउने, गुण्डागर्दी गर्ने, आपराधिक गतिविधीमा संलग्न भइका र आलोचनात्मक चेत शुन्य भएका युवाहरुको प्रवेशले परिवर्तन सम्भव छैन ।साँच्चीकै परिवर्तन र समृद्धी चाहने हो भने युवाहरुको नाम जपेर मात्र हुँदैन । युवाको नाममा पुरानै प्रबृत्ती, पुरानै कार्यशैली र पुरानै तरिका केवल अनुहार मात्र युवा भएकाबाट परिवर्तनको कल्पना गर्नुपनि बेठिक हुन्छ । दराजमा उच्च शिक्षाको प्रमाणपत्र थन्क्याएर लाखौं युवाहरु बेरोजगारीको पिडामा विदेशिन बाध्य छन् । प्राज्ञिक जनशक्ति उचित वातावरणको अभावमा पलायन भएका छन् । यहाँ हामी घोषणापत्रमा विकास र परिवर्तनका खोक्रा नारा घन्काई रहेका छौँ । बढ्दो बेरोजगारी, विदेश पलायन दुब्र्यशनी लगायत अपराधिक गतिबिधीमा युवाहरुको संलग्नतालाई निस्तेज पारी देशमै सम्भावनाको खोज गरी सकारात्मक वातावरण निर्माणका लागि समेत राजनीतिमा सचेत र आलोचनात्मक चेत भएका युवाहरुको प्रवेश अपरिहार्य छ ।

राजनीति फोहरी खेल हो भन्दै पन्छिने होइन, फोहर पोखरीमा पसेर सफा गर्ने आँट युवाहरुले राख्न सक्नु पर्दछ । देशको भविष्यको सबैभन्दा ठूलो पूँजी भनेकै युवा शक्ति हो । यो विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको महाअभियानसंग जोड्नका लागि समेत युवाको राजनीतिमा प्रवेश जरुरी छ । युवा अवस्थामा लुटपात, चम्चागिरी र नेताको भक्तिगान अनि जीवनको अत्तरार्धमा राजनिभी गर्ने नेपाली संस्कारलाई निस्तेज पार्न समेत अब युवा सहभागिताको खाँचो छ । माओले भने झैं “युवा हो यो संसार तिम्रो पनि हो हाम्रो पनि हो, अन्ततः तिमिहरुकै हो ।” यसर्थ जनउत्तरदायी राजनीति र समृद्ध नेपालको लागि सक्षम, सचेत, उद्यमी, विवेकशिल युवाहरु राजनीतिमा आउनु पर्दछ । अनी मात्र देशले सहि गन्तब्य र निकास प्राप्त गर्दछ ।

प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका ब्यक्तिगत विचारहरु हुन् । – सम्पादक

Leave A Reply

Your email address will not be published.