onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको संख्यामा बृद्दि

Sambad ADD long

भुरीगाउँ, बर्दिया : पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । बाघ हेर्न चाहनेहरुका लागि अनुकुल समय रहेको र दैनिक जसो बाघ देखिने भएकाले निकुञ्जमा घुम्न आउने पर्यटकहरुको संख्यामा बृद्धि भएको निकुञ्ज प्रशासनले जनाएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउनु भएकी दैलेखकी कबिता रिजालले बर्दिया आएर प्रत्यक्षरुपमा बाघ देख्न पाउँदा निकै खुशी लागेको बताउनु भयो । अनलाइन संवादसंगको कुराकानीमा निकुञ्ज घुम्न आउनु भएकी रिजालले साथीहरुले दिएको जानकारीका कारण बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएको र साथीहरुले जानकारी गराए अनुसार नै बाघ देख्न पाएको बताउनु भयो । उहाँले भन्नुभयो “बर्दिया राष्ट्रिय निकुञ्ज घुमेर गएका साथीहरुले प्रत्यक्ष बाघ देख्यौं भन्दा विश्वास नै लाग्दैनथ्यो आज आफैले प्रत्यक्ष बाघ देख्न पाएपछि भने विश्वास लागेको छ र मन हर्षित भएको छ ।”

यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न भनेर आउनुभएका बिसाल भट्टराइले पनि बाघ देख्न पाएकोमा खुसी लागेको बताउनुभयो । घरका अरु सदस्यहरुको पनि निकुञ्ज घुम्ने इच्छा राखे पनि विभिन्न कारणले ल्याउन नसकेको र प्रत्यक्ष बाघ देख्न पाए पछि भने परिवारका अन्य सदस्यलाई ल्याउन नपाएकोमा पछुतो लागेको बताउनु भयो । उहाँले भन्नुभयो “अब अर्को चोटी आउँदा सबै जनालाई संगै लिएर आँउछु ।”

बाघकै कारण पछिल्लो समय बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरुको सख्या बढ्दै गएको प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म ९ हजार भन्दा बढी पर्यटकले बर्दिया राष्ट्रिय निकुञ्ज घुमिसकेका छन् । निकुञ्ज भ्रमण गर्न आउनेहरुमा नेपाल, भारत सहित सात देशका पर्यटकहरु रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.