ब्राउन सुगर सहित फुटाहाको दशगजा नजिकबाट दुई जना पक्राउ

मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिका–२, फुटाहा स्थित दशगजा नजिकबाट लागुऔषध (ब्राउन सुगर) सहित दुई जना पक्राउ परेका छन् । शंकास्पद तरिकाले भारतबाट नेपालतर्फ आईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरी टोलीले साउन २६ गते उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बाँके जिल्ला खजुरा गाउँपालिका वडा नम्बर २ बस्ने नबिन थापा र सोहि ठाउँका सन्देश खत्री रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । उनीहरुको साथबाट १ ग्राम १८० मिलिग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका दुई जनाको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिनुभयो ।