onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा बाघ बढेसंगै चुनौती पनि बढ्यो

वनमा आश्रीत परिवारलाई वैकल्पिक सुविधा दिन आवश्यक

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ‘स्वस्थ पारिस्थिकीय प्रणालीका लागि बाघ संरक्षण’ भन्ने सन्देशका साथ विभिन्न कार्यक्रम गरी साउन १३ गते शुक्रबार विश्व बाघ दिवस मनाइएको छ । बाघ दिवसका अवसरमा देशभरका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघ गणनाको नतिजा पनि सार्वजनिक गरिएको छ ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा भएको विश्व बाघ सम्मेलनमा १३ वटा बाघ पाइने राष्ट्र प्रमुखहरुको भेलाले सन् २०२२ सम्ममा नेपालले बाघको संख्या दोब्बर पुर्याउने प्रतिवद्धता जनाएको थियो । यसअघि २३५ पाटे बाघ रहेको नेपालमा बाघको संख्या बढेर ३५५ पुगेको छ । नेपालले सन् २०२२ सम्ममा बाघको संख्याया दोब्बर बनाउने प्रतिबद्धता जनाएपनि बाघको संख्या बढिरहँदा जोखिम पनि बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएसंगै चुनौती पनि थपिएको छ । बर्दियामा बाघको संख्या बृद्धि भएसंगै पछिल्लो तीन वर्ष यता बाघ आक्रमणका घटना बढ्नुले बाघ र मानवबीच द्वन्द्वको घटना बढ्न थालेपछि चुनौती थपिएको हो ।

बर्दिया निकुञ्ज आसपासका क्षेत्रमा सन् २००९ मा पाटे बाघको संख्या १८ थियो । त्यसैगरी सन् २०१३ मा ५० वटा, सन् २०१८ मा ८७ वटा हुँदै यो वर्ष गरिएको बाघ गणनामा बाघको संख्या बढेर बर्दियामा १२५ वटा वयस्क बाघ पुगेको छ । बर्दियामा बाघको संख्या बढेसंगै बाघ आक्रमणका घटना पनि बढ्दै गएपछि सावधानी अपनाउनु पर्ने भएको छ । बाघको संख्या बढेसंगै पछिल्लो समय बाघ आक्रमणका घटना पनि बढ्दै गएपछि सावधानी अपनाउनु पर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा। रबिन कडरियाले बताउनु भयो ।

बर्दियामा बाघको संख्या बृद्धि भएसंगै पर्यटन व्यवसायी खुसी भएका छन् भने निकुञ्ज र सामुदायिक वनका हात्ती, चितुवा लगायतका वन्यजन्तुबाट हुने जनधनको क्षती रोक्न विकल्पहरु अपनाएर रोक्ने प्रयास भईरहेका बेला तीन वर्ष यता पाटे बाघले मान्छे मार्न थालेपछि स्थानियबासीमा थप त्रास बढेको छ । निकुञ्ज, जैविकमार्ग क्षेत्र, राष्ट्रिय वन र मध्यवर्ती सामुदायिक वन क्षेत्र आसपासमा पाटे बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेको हो ।

बर्दियामा पाटे बाघ आक्रमणका घट्ना बढेपछि सरकारले द्धन्द्ध बढ्न नदिन विषेश कार्यक्रम ल्याउनु पर्ने संरक्षणकर्मीको माग छ । बाघ र मानबीच सहअस्त्विका कार्यक्रम ल्याएर पाटे बाघ लगायत वन्यजन्तुबाट हुने क्षती कम गर्न दिगो व्यवस्थानका लागि सरकारले बैकल्पीक उपाय खोज्न आवश्यक रहेको बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व प्रमुख संरक्षण अधिकृत रमेशकुमार थापाले बताउनु भयो ।

सन् २०१८ को बाघ गणना अनुसार ८७ वटा वयस्क पाटे बाघ रहेकोमा अहिले त्यो संख्या बढेर १२५ पुगेको छ । बर्दिया निकुञ्जमा वर्षेनी पाटे बाघको संख्या बढ्दै गएको छ । तर बाघ आक्रमणका घटनाबाट मानविय क्षती पनि बढ्दो छ । बाघको आक्रमणबाट बर्दिया जिल्लामा २२ जना, बाँके र कैलाली जिल्लामा ८ जना गरि तीन वर्षको अवधीमा पाटे बाघको आक्रमणबाट ३० जनाको ज्यान गएको छ । निकुञ्ज, मध्यवर्ती क्षेत्र र राष्ट्रिय वन आसपासका सामुदायिक वनमा स्थानीयहरु घाँस दाउरा लिन जंगल गएका बेला र जंगल आसपासका क्षेत्रमा पाटे बाघले मानिसको ज्यान लिने गरेको छ ।

तराईकै ठूलो निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्जले ९६८ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । बर्दिया निकुञ्ज, बाँके निकुञ्ज र भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष नजिकको खाता जैविकमार्गसँग जोडीएको छ । बाघको संरक्षणमा उल्लेख्य भूमिका निर्वाह गरेको बर्दियामा बाघ र मानवबीच द्वन्द्व न्यूनिकरण गर्न बर्दिया निकुञ्जले रणनितीक योजना बनाएर अघि बढेको बर्दिया निकुञ्जका सुचना अधिकारी मुकुन्द संजेलले जानकारी दिनुभयो ।

मानव–वन्यजन्तुबिच द्धन्द्ध बढ्न नदिई सहअस्तित्व कायम राख्न नेपाल सरकारले निकुञ्ज र राष्ट्रिय वन आसपास क्षेत्रका वन जंगलमा आश्रित स्थानीयबासीन्दालाई निककुन्ज र वन किनारमा व्यवस्थीत तारजाली, घाँसदाउरा लिन जंगल प्रवेश गर्ने कार्य रोकेर वैकल्पीक व्यवस्था उपलब्ध गराउन तत्काल छुट्टै विशेष कार्यक्रम संचालन गर्नुपर्ने र निकुञ्ज भित्र पर्ने राजमार्ग क्षेत्रमा पर्ने सडकमा वन्यजन्तुमैत्रि संरचनाहरु माथिबाट वन्यजन्तु हिँड्न मिल्ने, तलतिरबाट यातायातका साधन गुडन मिल्ने (अन्डरपास) अथवा माथिबाट यातायातका साधन गुड्न मिल्ने र तलतिरबाट वन्यजन्तु ओहोरदोहोर गर्न मिल्ने खालका (ओभरपास) को खाँचो रहेको संरक्षणकर्मीको भनाई छ । यो समस्याको दीर्घकालिन समाधान खोज्न सरकारले तत्काल पहल गर्न जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.