
मधुवन, बर्दिया : मधुवन नगरपालिका–७, भगरैया टोलबाट लागुऔषध (ब्राउन सुगर) सहित एक जना पक्राउ परेका छन् । ब्राउन सुगरको बिक्रीवितरण, ओसारपसार तथा प्रयोग गर्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले निजलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नम्बर ७ भगरैया टोल बस्ने पप्पु खाम्चा मगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने शिलशिलामा निजको घरमा खानतलासी गर्दा बिस्तारा मुनी लुकाई छिपाई राखेको अवस्थामा प्लाष्टिक सहित १ ग्राम १३० मिलिग्राम तौल भएको तथा शुद्ध तौल ८६० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका पप्पु खाम्चा मगरको विरुद्धमा लागुऔषध सम्बन्धी शिर्षकमा मुद्दा दर्ता गरेर बर्दिया जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायव उपरीक्षक सुर्य प्रकाश सुवेदीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षको साउन महिनामा मात्र ७ वटा लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी १० जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको साथबाट ६ ग्राम लागुऔषध (ब्राउन सुगर) बरामद गरी अनुसन्धान जारी रहेको छ ।