onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बैंकको रकम हिनामिना गरी प्रबन्धक फरार

Sambad ADD long

गुलरिया, बर्दिया : नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रबन्धक बैंकको रकम हिनामिना गरी फरार भएका छन् । ईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएर बैंक कसुर गरेको प्रबन्धक धर्मेन्द्र न्यौपाने माथि आरोप छ ।

नेपाल बैंक लिमिटेड गुलरिया शाखामा कार्यरत धर्मेन्द्र न्यौपाने साउन ११ गतेदेखि सम्पर्कविहीन रहेको नयाँ शाखा प्रबन्धक कुश अधिकारीले बताउनु भयो । उहाँले भन्नुभयो, “हामीले घरमा सम्पर्क गर्दा पनि सम्पर्क भएन । घरबाट पनि सम्पर्कविहीन भएको अवस्था छ ।” कार्यालयबाट फिल्ड जान हिंडेका उनले पछि आउन पाउँदिन भनेर कार्यालयमा खबर गरेका थिए । भर्खर मात्र कार्यालय सम्हाल्न आएका प्रबन्धक अधिकारीले बैंकको रकम आईपीएस प्रयोग गरेर हिनामिना भएको देखिएको बताउनु भयो ।

“बैंकको अडिट भैसकेको छ । जुन–जुन ग्राहकको खाताबाट रकम झिकिएको छ सो रकम बैंकले ग्राहकहरुको खातामा हाल्ने भएकाले ग्राहकले जम्मा गरेको रकम घट्दैन । बैंक लुटिंदा हामीले रकम फिर्ता गरेका छौं । यसमा त फिर्ता नहुने कुरै छैन”, उहाँले भन्नुभयो । ग्राहकहरुलाई ढुक्क हुन उहाँले आग्रह गर्नुभयो । सम्पर्कविहीन कार्यालय प्रमुखको बैंकले पनि खोजी गरिरहेको उहाँले बताउनु भयो । “हराएको मान्छे भेटिन पर्‍यो । पैसा त बैंकले हालिहाल्छ । सुरुमा पत्ता लगाउन मात्र कठिन हो” अधिकारीले प्रष्ट्याउनु भयो ।

नेपाल बैंक लिमिटेड गुलरियाका प्रबन्धकले आईपीएस प्रयोग गरी आफन्तको खातामा पैसा पठाएको भेटिएपछि बैंकले जिल्ला प्रहरी कार्यालय बर्दियामा बैंकिङ कसुरमा मुद्धा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताउनु भयो ।

बैंकको ५० लाख रुपैयाँ आईपीएस मार्फत् हिनामिना गरी फरार प्रबन्धक न्यौपानेलाई छानविनको लागि बैंकले दिएको जाहेरी रितपूर्वक दर्ता गरी अनुसन्धान सुरु भएको एसपी शाहीले बताउनु भयो । फरार प्रबन्धकको परिवारले पनि हराएकाले खोजी गरी पाम भनी निवेदन दिएको एसपी शाहीले जानकारी दिनुभयो ।

“हामीले खोजी कार्यलाई तीव्रता दिएका छौं । मोबाइल स्विच अफ छ”, उहाँले भन्नुभयो । प्रहरी गहिरो अनुसन्धानमा रहेकाले बाँकी तथ्य चाँडै पत्ता लाग्ने उहाँले विस्वास दिलाउनु भयो । कालिकोटबाट बसाइ सरी नेपालगञ्ज घर भएका न्यौपाने केही महिनादेखि नेपाल बैंक लिमिटेड बर्दियाको गुलरिया शाखामा प्रबन्धकको रुपमा कार्यरत थिए । साभार : यादब आचार्य/अन्नपूर्ण

Leave A Reply

Your email address will not be published.