online-aama-surachhya-sandesh

ठाकुरबाबा नगरपालिकाको आयोजनामा छैठौं बृहत रक्तदान शिविर सम्पन्न

पवन जैसवाल ९२ औं र प्रेम प्रसाद लम्सालद्वारा ६१ औं पटक रक्तदान

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको आयोजना, नेपाल स्वयम् सेवी रक्तदाता समाज ठाकुरबाबा नगर समितिको सह–आयोजना तथा नगरपालिका भित्र संचालनमा रहेका संघसंस्थाको समन्वय तथा सहकार्यमा छैठौं बृहत रक्तदान शिविर सम्पन्न भएको छ ।

ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालले रक्तदान गरी शुभारम्भ भएको शिविरमा १११ जना पुरुष र ४२ जना महिला गरी १५३ जनाले रक्तदान गरेको ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशीले जनाकारी दिनुभयो । रक्तदान शिविर सञ्चालन गर्नाले स्वास्थ्यप्रति संवेदनशीलता एवम् नियमित स्वास्थ्य परीक्षणको आवश्यकताबारे बोध हुने नगरप्रमुख लम्सालले बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसञ्चार केन्द्र जिल्ला शाखा बाँकेको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा रक्तदान गरे संगै बाँकेका पवन जैसवालको ९२ औं र ठाकुरबाबा नगरपालिका–३, मानपुरका प्रेम प्रसाद लम्सालको ६१ औं पटक रक्तदान पुगेको छ । लम्साल बर्दियाका बरिष्ठ रक्तदाता समेत हुनुहुन्छ । उहाँको सक्रियता तथा अध्यक्षतामा नेपाल स्वयम् सेवी रक्तदाता समाज, बर्दियाको स्थापना भई विभिन्न संघसंस्थाको सहकार्यमा संस्थाले रक्तदान कार्यक्रम सञ्चालन गर्दै आई रहेको छ ।

उपचाररत बिरामीहरुलाई आवश्यक पर्ने रगतको अभावमा ज्यान जानबाट बचाउन नगरपालिका संगको सहकार्यमा रक्तदान शिविरको आयोजना गरिएको नेपाल रेडक्रस सोसाईटी ठाकुरबाबा उप–शाखाका सभापति यज्ञ नेपालले बताउनुभयो ।

रेडियो टाइगर ९९.२ मेगाहर्ज, विकास प्रेमी युवा समूह, लायन्स क्लब अफ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटि ठाकुरबाबा उप–शाखा, बर्दिया राष्ट्रिय निकुञ्ज, देवीदत्त गण ठाकुरद्वारा, भुरीगाउँ खानेपानी उपभोक्ता तथा सरसफाइ समिति, थारु समुदाय विकास मञ्च, चुरे क्याम्पस बगनाहा, मनुषा टिका सिंह थापा बहुमुखी क्याम्पस, नारी एकता शक्ति केन्द्र, नेपाल शिक्षक संघ, ईलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँ, ठाकुरबाबा उद्योग वाणिज्य संघ, औषधी व्यवसायी संघ बर्दिया, हिमालय सहकारी संस्था लिमिटेड – मानपुर, सिको साकोस – भुरीगाउँ, हाम्रो मध्यवर्ती साकोस – भुरीगाउँ, विश्वासिलो साकोस – मढेला, प्रगती साकोस – बगनाहा, किसान कमैया कल्याण साकोस – बनकट्टी, ठाकुबाबा बहुउदेश्यीय सहकारी संस्था – ठाकुरद्वारा, नेउलापुर साना किसान कृषि सहकारी – भुरीगाउँ लगायत ठाकुरबाबा नगरपालिका भित्र सञ्चालनमा रहेका संघसंस्थाहरुको समन्वय तथा सहकार्यमा शिविर सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.