हरेक वर्ष संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, विद्यालय व्यवस्थापन समिति तथा विभिन्न सरकारी साथै गैरसरकारी संघसंस्थाबाट शिक्षक सम्मानित भएका समाचार हामीले देख्न तथा सुन्न पाइरहेका हुन्छौं । सम्मान शब्द आफैमा एक ओझिलो शब्द हो । यसको गरिमा र महत्त्व छुट्टै छ । हरेक ब्यक्तिलाई सम्मानित स्थानमा पुर्याउन प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा शिक्षक अर्थात् गुरुको ठूलो भूमिका रहन्छ । त्यसमाथि शिक्षकलाई नै सम्मान गरिनु अझै महत्वपूर्ण कार्य हो ।
हरेक क्षेत्रमा ब्यक्तिले खेलेको महत्त्वपूर्ण भूमिकाको महत्ताले नै ऊ त्यसको भागिदार भएको हुन्छ । व्यक्ति सम्मानित हुनु त आफैमा गौरवको कुरा हो त्यसको गरिमा र उचार्इलाई कायम राख्नु अझै ठूलो चुनौतीपूर्ण काम हो । सबैसबैले यो अवसर पनि प्राप्त गर्दैनन् र सम्मानित हुनेले यसको गरिमा र महत्त्वलाई संरक्षण गर्न पनि सक्दैनन् । सम्मान तथा पुरस्कार सानो होस् वा ठूलो सबैको उत्तिकै र उस्तै महत्त्व हुन्छ भन्ने कुरा सम्मानित वा पुरस्कृत हुनेले कदापि भुल्नु हुँदैन ।
सम्मानित हुने व्यक्तिको संलग्नताको क्षेत्रले पनि ऊ कति संवेदनशील हुने कुराको सिमा निर्धारण गर्दछ । प्रसंग शिक्षक सम्मानको रहेको हुँदा यसप्रति अझै गाम्भिर्यता थपिएको महसुुस हुनु स्वाभाविकै हो । हरेक कोणबाट आलोचित, अपहेलित, तिष्कृत पात्रलाई उत्कृष्टताको पगरी गुथाउने जोकोहीलाई त्यति सहज र सर्वग्राहिय हुन गाह्रो मात्र होइन कठिन पनि छ । शिक्षक सम्मानित हुनु अघि वा सम्मानित भइसके पछि उसमाथि सबैभन्दा बढी आलोचनात्मक टिप्पणी व्यक्त गर्ने कुनै वर्ग छ भने त्यो शिक्षक वर्ग नै हो । यसलाई सर्वकालिक उपक्रम मान्ने हो वा व्यक्तिमा भएको लघुताभाष अथवा मपाइँत्वको प्रकटिकरण । विवेकशील आँखाले केलाउँदा जोकोही शिक्षक सम्मानित हुनु आफैमा एक पेसागत कदर र महत्त्वबोध हो । यस कुरालाई सबैले आफ्ना स्नेही आलिङ्गनमा बेरिनु पर्दछ, जसले शिक्षक अनि शिक्षण पेसाप्रतिको समर्पणभावलाई अव्यक्त शैलीमा व्यक्त गरिरहेको हुन्छ ।
शिक्षक त्यो चाहे बालकक्षामा प्रविष्ट भएको होस् वा उच्च शिक्षामा समाहित भएको किन नहोस्, सबैको महत्त्व र जिम्मेवारी उत्तिकै अनि उस्तै हुन्छ । मात्र आफुले प्राप्त गरेको जिम्मेवारी के कसरी पुरा गरिरहेको छ भन्ने कुराले महत्त्व राख्दछ । त्यसैले ऊ किन छनौट भयो म किन भइन भन्दा पनि आगामी दिनमा आफ्नो कार्य र कार्यक्षेत्र प्रतिको उत्तरदायित्व बोध, कर्तव्यपरायणतालाई आत्मसात गरे यी अवसरका ढोकाहरु सबैका लागि सदा खुल्ला रहेको कुरा घाम जत्तिकै छर्लङ्ग छ । शिक्षकमा सधैं सकारात्मक चिन्तन हुनुपर्दछ । अनि हरेकमा सकारात्मक चिन्तनको ऊर्जा सिन्चित गरिरहनुपर्छ ।
कक्षा शिक्षण जस्तो गहन जिम्मेवारी लिएर कक्षाकोठामा प्रवेश गर्ने शिक्षक सर्वप्रथम खुसी हुनुपर्दछ र मात्र उसले खुसी खुसीका साथ आफ्ना शिष्यलाई खुसी हुन ऊर्जा प्रदान गर्न सक्छ । अन्यथा दुःखी आत्माबाट खुसी र सुखी जिनिसको उत्पादन हुन सक्दैन । शिक्षक सम्मान कार्यको महत्त्वका बारेमा जति चर्चा गरेपनि कमि र अपुरो नै रहने हुदाँ सम्बन्धित निकायको ध्यान यतापट्टि जानुपर्दछ भन्ने आशा एवम् विश्वास लिएको छु । त्यसैले मिहिनेती, कर्मशील, इमानदार, कर्तव्यनिष्ठ, जिम्मेवार तथा लगनशील शिक्षकलाई विभिन्न अवसर पारेर सम्मान गरिरहनु पर्दछ । यसमा गरेको लगानी खेर जाँदैन । भावी पुस्ताका लागि यो अक्षय लगानी हुनेमा दुई मत छैन ।
प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका ब्यक्तिगत विचारहरु हुन् । – सम्पादक