online-aama-surachhya-sandesh

सहकारीलाई महासंघको आग्रह, “ठूला कर्जा लगानी नगर्नु”

Sambad ADD long

काठमाण्डौ : राष्ट्रिय सहकारी महासंघले सहकारी संस्थाहरुलाई जोखिम मूल्यांकन गरी सामान्य अवस्था भन्दा बढी तरलता कायम राख्न आह्वान गरेको छ । मंगलबार महासंघले एक अपील जारी गर्दै जोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनाबद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन आग्रह गरेको छ ।

पछिल्लो समय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेको तथा कर्जा असुलीमा पनि समस्या भएको घटनाहरु बढ्दै गएपछि महासंघले मंगलबार उक्त अपील सार्वजनिक गरेको हो । महासंघले अहिले असहज अवस्था रहेको भन्दै परिस्थिति सहज नहुँदासम्म घरजग्गा र ठूलो लगानी नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ । सदस्यहरूले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसंग मात्र कारोबार गर्न महासंघले सुझाव दिएको छ ।

‘कोभिड–१९ महामारी, रुस–युक्रेन युद्धसंगै वस्तु तथा सेवाहरुको मूल्यवृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकमको अभावको प्रभाव सहकारीमा पनि परेको महासंघको अपीलमा उल्लेख गरिएको छ । कतिपय सहकारी संस्थामा तरलताको चाप पर्दा सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाइ भइरहेको छ । महासंघले सम्पूर्ण सहकारी संघ/संस्था तथा सदस्यहरुलाई धैर्यता तथा सतर्कता अपनाई थप संयमित रुपमा कदम चाल्न अनुरोध गरेको छ । महासंघ, संघ एवम् सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम तथा तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजबुद बनाउन आह्वान गरेको छ ।

त्यस्तै सदस्य एवम् सरोकारवाला निकायहरुसंग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्न महासंघले अपील गरेको छ । सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न, सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसंग नियमित सम्पर्कमा रहँदै यथासम्भव अभियानभित्रै कारोबार गर्न आह्वान गरेको छ ।

Leave A Reply

Your email address will not be published.