बगनाहा, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ को कार्यालयले घुम्तीसेवा सञ्चालन गरेको छ । बगनाहा बजारमा रहेको वडाकार्यालयबाट भौगोलिक रुपमा टाढा रहेका गोदाना, नेउलापुर र कञ्चनपुर गाउँका नागरिकहरुलाई लक्षित गरी वडा कार्यालयको घुम्तीसेवा सञ्चालन गरिएको वडा अध्यक्ष श्रीकृष्ण थारुले बताउनुभयो ।
भौगोलिक रुपमा टाढा रहेका गाउँका नागरिकहरुलाई छिटो, छरितो र प्रभावकारी रुपमा घरदैलोमा नै वडाको सेवा उपलब्ध गराई वडा कार्यालयको अपनत्वपन गराउनका लागि गत जेष्ठ २४ गते देखी सरकारी सार्वजनिक बिदा बाहेक साप्ताहिक रुपमा गोदाना गाउँमा बुधबार र कञ्चनपुर गाउँमा शुक्रबार घुम्तीसेवा सञ्चालन भई रहेको वडाध्यक्ष थारुले जानकारी दिनुभयो ।
वडाध्यक्ष थारु सहितको समूहले आफुहरु जननिर्वाचित भएमा वडा कार्यालयको केन्द्र देखी भौगोलिक रुपमा टाढा रहेका गाउँका नागरिकको सेवाका लागि घुम्तीसेवा सञचालन गर्ने लगायतका प्रतिबद्धता ब्यक्त गरेको र सोही प्रतिबद्धताहरुको कार्यान्वयनका क्रममा घुम्तीसेवा सुरु गरिएको महिला सदस्य रुपकला कुमारी थापा कार्कीले बताउनु भयो ।
वडा कार्यालयले आज मंगलबार एक सुचना प्रकाशन गर्दै बुधबार र शुक्रबारका दिन वडाको कार्यालय बगनाहाबाट प्रबाह हुने सेवा कर्मचारी अभावले प्रभावित हुने भएकाले सो दिनहरुमा अत्यावश्यक कामका लागि घुम्तीसेवा सञ्चालन भएको ठाउँबाट नै सेवा लिन र अन्य दिनहरुमा वडा कार्यालयबाट नै नियमित सेवा सञ्चालन हुने भएकाले नियमित सेवा लिन वडाबासीहरुमा अनुरोध गरेको छ ।