onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

एसईई नतिजा, अनि आ–आफ्नै डम्फु

Sambad ADD long

पाठ्यक्रम, पाठ्यपुस्तक र विद्यालयका भौतिक संरचनाहरु जतिसुकै सुविधा सम्पन्न भए पनि विक्रम सम्वत् २०५७ सालदेखि यता कति नयाँ विद्यालय स्थापना भए कति स्तरवृद्धि भए, शिक्षक दरबन्दीका नाममा केही समय राहतकोटा, त्यसपछि शिक्षण अनुदान प्रदान गरेर जसोतसो स्कुल थाम्ने, त्यतिमात्र नभई विद्यालयले विभिन्न दररेटमा भर्ती गरेका नीजिस्रोतका शिक्षक, अहिलेको गणतन्त्र नेपालले जन्माएका नगर शिक्षक, स्वयम्सेवक शिक्षक ।

दिन भरि एकै ठाउँमा एउटै प्रकृतिको काम गर्ने ज्यामीले पनि एउटै पारिश्रमिक पाउँछ तर दुर्भाग्य शिक्षण कार्य जस्तो यति संवेदनशील क्षेत्रमा संलग्न शिक्षक, शिक्षक बिचको पारिश्रमिकमा भएको विभेदले गर्दा पनि शैक्षिक सुधारमा, सिकाइ उपलब्धि वृद्धिदरमा कमि आएको हुनसक्छ । विद्यालयमा विषय शिक्षक छन् वा छैनन् ? यस विषयमा कसले सोँच्ने ? कसले बिचार गर्ने ? समान विषय, समान तह र कक्षामा पढाउने शिक्षक बिचको यस असमानतालाई सर्वप्रथम  अन्त्य गर्ने प्रयास संघीय, प्रदेश तथा स्थानीय सरकारले तुरुन्त पहल गर्नुपर्छ । भोको गोरुले दाँइहाल्दैन, न भोका हलिले मेलो मेटिन्छ ।

एसईईको नतिजा राम्रो खोज्नका लागि धेरै कुराहरुको समायोजनबाट मात्र सम्भव हुन्छ । ८–१० जना विद्यार्थीको ट्युसन कक्षा चलाएका विद्यालय र  एउटै कक्षामा १५०–२०० विद्यार्थी स्याहारेका विद्यालयको नतिजालाई कति सजिलै तुलना गरिन्छ । यति जिपिए उति जिपिए भनेर व्यथा, वेदना कस्ले बुझ्ने रु यस्तो विषम परिस्थितिमा पनि एसईई उत्तीर्ण गर्नुभई उच्च शिक्षा आर्जनको बाटो खोल्नु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाईका साथै अग्रगामी सफलताको शुभकामना छ ।

वर्ष भरि आफ्ना नानीबाबुहरु विद्यालय नियमित गएकी गएनन्, नियमित पढेकी पढेनन् । विद्यालयबाट आफ्ना छोराछोरी  समयमा घर आउँछन् कि आउँदैनन्, विद्यालयमा शिक्षकले दिएका गृहकार्य गर्छन् वा गर्दैनन् कुनै चासो र वास्ता नगर्ने तर परिणाम राम्रो चाहिने । अझ विद्यालय, पढाइ, लेखाइ अनि शैक्षिक गतिविधि प्रति वर्ष दिन चासो नराख्नेहरुले बडो इमानदारी साथ एसईई नतिजा विश्लेषण कार्य  सामाजिक सञ्जालमा गरेर समय खर्चिनु भएकोमा उदेक लाग्दो बैराग्य भाव जागृत हुन्छ ।

आउनुहोस् हातेमालो गरौँ, साच्चै एसईईको नतिजा प्रति तपाईंको चित्त दुःखेकै हो भने स्वागत छ, यहाँका नयाँनयाँ तरिका अनि नौला कुनै योजना र सुत्रहरु छन् भने विद्यालयमा बाँड्नु होस्, सधैं यहाँका ती महान योजना र फर्मुला अपनाउन तयार छ हरेक सामुदायिक विद्यालय । यी विद्यालय कसैको नीजि सम्पत्ति होइन, यसमा कसैको एकतन्त्रीय शासन चल्दैन सबैको साझा सहमति र सहकार्य अनुरुप नै चल्नेमा कतै दुई मत छैन ।

शिक्षक, शिक्षा क्षेत्रमा काम गर्ने व्यक्तित्व, शिक्षा सरोकारवालाहरुले टिप्पणी, विश्लेषण गरेको त ठिकै हो, अन्यको माफ गर्नुहोला अर्थ न वर्थ गोविन्द गाइ ।सबैले आ–आफ्नो क्षेत्र सुधारमा सरिक हौँ । अरुको कामको ठेक्का लिएर नदुःखेको टाउको नदुःखाउँ आआफ्नो काममा व्यस्त रहनुहोस् मस्त रहनुहोस् । आफू भलो त जगत भलो ।

प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका ब्यक्तिगत विचारहरु हुन् । – सम्पादक

Leave A Reply

Your email address will not be published.