भुरीगाउँ, बर्दिया : बर्दियामा २ वर्षको अवधिमा हात्तीको आक्रमणबाट ७ जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिकामा मानव र हात्ती सह–अस्तित्व सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिमको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत राजेश लम्सालले ७ जनाको ज्यान गएको जानकारी दिनुभयाे ।
पछिल्लो समय मानविय लापरबाही, वनजंगल बिनास, वनजंगल उपभोक्ताका लागि हात्ति र मानिसको प्रतिस्पर्धा, जनचेतनाको कमि, हात्ती प्रतिको मानविय व्यवहार, सहज र मनपसन्द आहारा, हात्तीसार रहेको क्षेत्र वरिपरि भाले हात्तीको गतिबिधि लगायतले गर्दा हात्तीबाट हुने मानविय क्षति बढेको संरक्षण अधिकृत लम्सालले बताउनुभयो ।
नेपालमा वासस्थान बिनास र वासस्थान खण्डिकरण, जैविक मार्गमा व्यवधान र अवरोध, आहाराको कमि, चुरे र भावर क्षेत्रमा पानीको कमि, चोरीशिकार र ओखेटोपहारको अबैध व्यापार लगायतका कारण नेपालमा हात्ती संरक्षणमा चुनौतिहरु बढ्दै गएको बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रमेश थापाले जानकारी दिनुभयो ।
उज्यालो नेपालको आयोजनामा मानव र हात्ती सहअस्तित्व कायम राख्नका लागि के कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने उद्येश्यले आइतबारबाट ३ दिने तालिम शुरु भएको छ । संचालित तालिममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले वन्यजन्तुलाई मानव बस्तिसम्म आउनबाट रोक्नका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको र यसमा पनि नगरपालिकाले बिशेष पहल गर्ने बताउनुभयो ।
अहिले सबैको सहयोग र संरक्षणले गर्दा जसरी बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सख्या बढेको छ त्यसरी नै बिभिन्न संरक्षणका कार्यक्रमहरु संचालन गरेर बर्दियामा हात्तीको संख्या पनि बढाउनु पर्नेमा नगरप्रमुख लम्सालले जोड दिनुभयो ।