मानव र बाघबीचको बढ्दो द्वन्द
भुरीगाउँ, बर्दिया : आज विश्व बाघ दिबस । बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । यस दिन बाघको संरक्षणार्थ उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकहरुले तिन/चार वर्ष यता दिन दिनै बाघ देख्न पाईरहेका छन् । बर्दियामा वर्षेनी बाघको संख्या पनि वृद्धी हुँदै गईरहेको छ । ८७ वटा बयस्क पाटेबाघ रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा अहिले १२५ वटा पाटेबाघ पुगेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएका पर्यटकहरुले पाटेबाघ संगै गैँडा, जंगली हात्ती लगाएतका वन्यजन्तु पनि देख्न पाउँदा निकै खुशी हुने गरेकन छन् ।
मानव र बाघ बीचको बढ्दो द्वन्द, यसको आहारा तथा बासस्थानमा कमी, चोरीशिकार लगायतका कारणले पछिल्लो समय नेपालमा बाघको दीगो संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानवसंगको बढ्दो द्वन्द, साँघुरिएको बासस्थान र आहारा अभाव लगायत पछिल्लो समय बाघ संरक्षणमा प्रमुख चुनौतीका रुपमा देखिएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मुकुन्द सन्जयालले जानकारी दिनुभयो ।
पछिल्लो समय बर्दियामा जंगली हात्ती संगै पाटेबाघबाट सबैभन्दा बढी खतरा हुने क्रम बढ्दो छ । मध्यवर्ती क्षेत्रका मानिसहरु घाँस–दाउरा, निहुरो टिप्न र गाइभैंसी चराउन जाने क्रममा सामुदायिक वनभित्रै बाघको आक्रमणमा पर्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. रबिन कडरियाले बताउनुभयोे । उनीहरुलाई जंगल नजाने वातावरण बनाउनका लागि सरकारले वैकल्पिक उपायको व्यवस्था मिलाउने किसिमका कार्यक्रमहरू पनि आवश्यक देखिएको डा. कडरियाले उल्लेख गर्नुभयो । बाघको संख्या दोब्बर भएसंगै सरकारले बाघ विशेष कार्यक्रम पनि ल्याउने तयारी गरेको छ ।