भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा बालविवाह तथा चाँडैहुने विवाह रोकथाम परियोजना सुरु भएको छ । यस अघि तीन वर्ष सम्म सञ्चालन भएको परियोजना थप दुई वर्षका लागि सुरुवात भएको परियोजना संयोजक जिरा विश्वकर्माले जानकारी दिनुभयो ।
ठाकुरबाबा नगरपालिकाका बिभिन्न वडाहरु कार्यक्षेत्र हुने गरी परियोजनाको सुरुवात भएको परियोजना शुभारम्भ बैठकमा जानकारी गराईएको छ । गल्स फर्स्ट फण्डको आर्थिक सहयोगमा दलित महिला उत्थान संघऽ गुलरिया बर्दियाले परियोजना सञ्चालन गर्न लागेको हो । परियोजनाको मुख्य उद्देश्य बालविवाहसंग सरोकार राख्ने किशोरकिशोरी, अभिभावक र अन्य सरोकारवाला पक्षहरुलाई जानकारी, शसक्तिकरण र सहकार्य गर्दै बालविवाह तथा चांँडै हुने विवाहको अवस्थामा न्यूनिकरण गर्दै लैजाने रहेको छ । त्यसैगरी बालिका तथा किशोरीहरुको नेतृत्व विकास गर्ने, किशोरी र महिलालाई आयआर्जनमा सहभागी गराएर आत्मनिर्भर गराउने उद्देश्य रहेको परियोजना संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।
परियोजना अवधिमा बालविवाह तथा चाँडो हुने विवाह सम्बन्धी तालिम, गोष्ठि, समन्वय बैठक, विद्यालय स्तरमा कार्यक्रम, किशोरी तथा महिलाहरुलाई सिपमुलक तालिम, धार्मिक गुरुहरुसँग बैठक, रेडियो जिंगल र कार्यक्रम उत्पादन गरी प्रशारण, बालिकाहरुलाई ड्रेस र स्टेशनरी सामाग्री सहयोग लगायतका क्रियाकलाप संचालन गरिने जनाईएको छ ।
ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख विना कुमारी भट्टराईले कुनै परियोजनाले तोकेर मात्र बालविवाह तथा चाँडै हुने विवाह न्यूनिकरण गर्न नसकिने भएकाले नगरपालिका भरी नै युवा पुस्ताहरुसंग संवाद कार्यक्रमहरु चलाउनुपनमा जोड दिनुभयो । बालविवाह न्यूनिकरणका लागि विद्यालय र समुदायलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गर्न सुझाब दिँदै ठाकुरबाबा नगर उपप्रमुख भट्टराईले वालविवाह तथा चाँडै हुने विवाह न्यूनिकरणका लागि सबैजनाले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताउनुभयो ।