onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

लुम्बिनीका प्रादेशिक अस्पतालहरुमा टिकट र बेड निःशुल्क

Sambad ADD long

बर्दिया : बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल र दाङमा रहेको राप्ती प्रादेशिक अस्पतालमा आज आइतबार देखी बहिरंग (ओपीडी), बेड तथा उपचार सेवाको टिकट निःशुल्क उपलब्ध गराउन थालिएको छ । आर्थिक वर्ष २०७९/८० को सुरुवातसंगै आज देखी लागु हुने गरी लुम्बिनी प्रदेश सरकारले यस्तो व्यवस्था गरेको हो ।

आर्थिक वर्ष २०७९/८० को बजेट मार्फत् एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गर्दै लुम्बिनी सरकारले प्रादेशिक अस्पतालरुमा उपचारका लागि आउने बिरामीहरुबाट शुल्क नलिने घोषणा गरेको हो । सरकारको घोषणा बमोजिम नै आज श्रावण १ गतेबाट लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा सो कार्यक्रम कार्यन्वयनमा ल्याइएको स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले बताउनु भयो ।

आज देखी नै लागू हुने गरी लुम्बिनी प्रदेशका सरकारी अस्पतालहरुमा रगत निःशुल्क उपलब्ध हुनेछ । रगत निःशुल्क उपलब्ध गराउन लुम्बिनी प्रादेशिक अस्पताल र रक्तसंचार सेवा केन्द्रबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । निःशुल्क रगत उपलब्ध गराउनका लागि सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यसअघि एक युनिट रगतका लागि करिब ८ सय रुपैयाँ शुल्क लाग्दै आएकोमा आज देखि सरकारी अस्पतालहरुमा आएका बिरामीले चिकित्सकको सिफारिस लिएर आएमा रक्तसञ्चार सेवा केन्द्रले कुनै पनि शुल्क नलिएर रगत उपलब्ध गराउने रक्तसञ्चार केन्द्रका प्रदेश महासचिव कृष्ण पंगेनीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालका अनुसार शुल्क नलाग्ने भए पनि उपचारलाई व्यवस्थित गर्न र बिरामीको रेकर्डका लागि काउन्टरबाट टिकट लिनुपर्नेछ । लुम्बिनी प्रदेशमा वार्षिक ६० हजार युनिट रगत खपत हुने गरेको तध्याङ्क रहेको छ ।

Leave A Reply

Your email address will not be published.