बर्दियामा चमेरोका प्रजाति खोजिँदै
गुलरिया, बर्दिया : जैविक विविधताको सहयात्रामा चमेरोको भूमिका महत्वपूर्ण रहेपनि नेपाली समाजमा यसलाई नकारात्मक रूपमा हेर्ने गरिन्छ । इकोसिस्टम सन्तुलन राख्दै बृक्ष प्रजातिमा परागकणका सम्बाहक मानिने चमेरोहरूको प्रकृतिमा महत्वपूर्ण भुमिका रहँदै आएको छ ।
बर्दियामा चमेरोको संरक्षणका हेतुले यसका प्रजाति खोज्न थालिएको छ । विश्वमा २५ सय प्रजाति भन्दा बढी चमेरोहरू रेकर्ड भएका छन् । नेपालमा मात्र ५७ प्रजातिका चमेरो पाईन्छन् । बर्दियामा चमेरोको अनुसन्धान सुरु नभएपनि राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दिया संरक्षण कार्यक्रम मार्फत् चमेराको खोजी गरिँदैछ ।
बर्दियामा हालसम्म ५ प्रजातिका चमेरोहरू फेला परेको एनटीएनसी बर्दियाका संरक्षण अधिकृत डाक्टर रविन कडरियाले बताउनु भयो । अझै थप प्रजातिहरू भेटिन सक्ने अनुमान रहेको उहाँले बताउनु भयो । बर्दियामा कति प्रजातिका चमेरा छन् । कस्ता ठाउँमा पाइन्छन् । यिनीहरूले के खान्छन् लगायतका विषयमा खोज तथा अनुसन्धान गरीरहेको उहाँले जानकारी दिनु भयो । बृक्ष प्रजातिका वनस्पतिहरूको प्रजनन्मा महत्वपूर्ण योगदान पुर्याउने चमेराहरूप्रति जनमानसमा रहेको नकारात्मक दृष्टिकोणलाई सकारात्मक बनाउनु जरुरी रहेको उहाँको भनाइ छ ।
“जैविक विविधताको संरक्षण गर्दै जल, जंगल, पृथ्वी जोगाउनु अबको आवश्यकता हो । सबै मिलि वातावरण संरक्षणमा हातेमालो गर्नुपर्छ। पछिल्लो समय वन विनास, बढ्दो औद्योगिकरणका कारण पृथ्वीको तापक्रम बढेसँगै प्रकृति विनासको जोखिमले मानवलगायत जीवजन्तु जगतलाई समस्या सिर्जना गरेको छ,” उहाँले भन्नुभयो ।
पृथ्वीसंगै जैविक विविधताको संरक्षणसंगै मानव वन्यजन्तुबीच सह-अस्तित्व बढाउँदै प्रकृतिमैत्री जीवनयापन अबको आवश्यकता रहेको डा. कडरियाले बताउनु भयो । जैविक विविधता भित्र चमेरोले प्राकृतिक वनहरूमा परागसेचन गर्न अहम् भुमिका निर्वाह गर्ने गरेको चमेरो अध्येता अनिशा न्यौपानेले बताउन भयो । उड्ने स्थनधारी जीवका रूपमा परिचित चमेराहरू बर्दियामा विभिन्न प्रजातिका भेटिएका छन् ।
बर्दियाको गुलरिया नगरपालिका भन्सार मूर्तिहा रोडमा अवस्थित कव्रुस्थानस्थित वरको बृक्षमा रहेको इन्डियन फ्लाईङ फक्स प्रजातिका चमेराहरू लामो समयदेखि बस्दै आएको उहाँले बताउनु भयो । यहाँ करिब ८ सयको हाराहारीमा चमेराहरू छन् । यिनीहरू आहाराका लागि लामो दुरी पार गर्छन् । इन्डियन फ्लाईङ फक्स प्रजातिका चमेराहरू आहाराको लागि चुरे पहाडको फेदी सम्म पुग्ने गरेको उहाँले प्रष्ट्याउन भयो ।
लामो यात्रा तय गर्ने चमेरोले चिउरी, अम्बा लगायतका फलफूलहरू खाने गर्छन् । म्यामल ग्रूपका उड्न सक्ने चमेराहरू आफ्ना बच्चालाई दुध चुसाउँछन् ।मानिसहरू उड्न सक्दैनन् चमेराहरू हिड्न सक्दैनन् । रुखमा झुण्डिएर बस्ने यिनीहरू रातिमा सक्रिय हुने गरेको उहाँले बताउनु भयो । चमेरो संरक्षणमा सबैले चाँसो दिँदै चमेरोलाई नकारात्मक रूपमा नलिई यसको संरक्षणमा सबै जुट्नु पर्ने चमेरो अध्येता अनिशा न्यौपानेले बताउनु भयो । साभार : यादब आचार्य/अन्नपूर्ण