onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाका न्यायाधीश र उच्च अदालत सुर्खेतका अन्सारी पदमुक्त

Sambad ADD long

काठमाण्डौ : न्याय परिषद्ले बर्दिया जिल्ला अदालतका न्यायाधीश लोकजंग शाह र उच्च अदालत सुर्खेतको जुम्ला इजलासका नसरुल्लाह अन्सारीलाई पदमुक्त गर्न सिफारिस गरेको छ । खराब आचरण र कार्यक्षमताको अभाव पाइएपछि पदमुक्त गर्न कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँहरूविरुद्ध परेका उजुरीमाथि अनुसन्धान र उहाँहरूले गरेका फैसला अध्ययनपछि दोषी पाइएकाले पदमुक्त गर्ने सिफारिस गरिएको प्रवक्ता कार्कीले बताउनु भयो । परिषद्को सिफारिस अनुसार कामु प्रधानन्यायाधीश कार्कीले उहाँहरू दुवैजनालाई आज आइतबार पदमुक्त गर्ने निर्णय गर्नुहुनेछ । नवलपरासीका अन्सारी २०७३ पौष २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त हुनु भएको थियो । त्यस्तै रुकुमका शाह २०४३ श्रावण २६ मा न्याय सेवा प्रवेश गरेर २०६६ भाद्र २३ मा जिल्ला न्यायाधीश नियुक्त हुनु भएको थियो । करिब १३ वर्षदेखि एउटै पदमा रहनु भएका शाह हालका जिल्ला न्यायाधीशहरूमा पुराना मध्येका एक हुनुहुन्छ ।

त्यसैगरी परिषद्ले उच्च अदालत तुलसीपुरकी न्यायाधीश बबिता उप्रेतीलाई सचेत गराउने पनि निर्णय गरेको छ । उहाँले गरेका फैसला अध्ययनपछि कार्यक्षमताको अभावमा उहाँलाई सचेत गराउने निर्णय गरिएको प्रवक्ता कार्कीले बताउनु भयो । काठमाण्डौकी उप्रेती पनि अन्सारीसंग एकैदिन अर्थात् २०७३ पौष २९ मा सिधै उच्च अदालतको न्यायाधीश नियुक्त हुनु भएको थियो ।

परिषद्ले अघिल्लो साता उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको थियो । धनुषाकी साहले योग्यता ढाँटेर नियुक्ति लिएको भन्दै आषाढ २४ मा उहाँलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । २०७५ चैत्र २० मा उच्च अदालतमा नियुक्त हुनुभएकी उहाँलाई नियुक्ति लिनलाई आफ्नो अयोग्यता लुकाएको आरोप लागेको थियो । १० वर्ष निरन्तर वकालत गरेको वा कानुनको क्षेत्रमा काम गरेको व्यक्तिका रूपमा नियुक्त हुनु भएकी साहले २० वर्ष सीटीईभीटीमा सामान्य प्रशासन सेवाको जागिरे भएर बिताउनु भएको थियो । उहाँ पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहकी छोरी हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.