
परिवर्तीत शैक्षिकसत्र अनुसार वैशाख दोस्रो साताबाट नयाँ कक्षामा शिक्षक सकृय हुनुपर्ने र विद्यार्थीमा नयाँ स्फूर्तिका साथ पढाइले वेग हान्नु पर्ने हो, खै कुन अदृश्य शक्तिले यि दुबैमा न जोस छ न नयाँ उमङ्गको ज्वारभाटा सृर्जित हुन सकेको छ । यि दुई पक्षमा कस्तो तगारो लागेको छ ।
विगत वर्ष जे भो भो आउने वर्ष त जुनसुकै हालतमा मेरो जिम्माको कोर्ष पुरा गरेरै छाड्छु भनि नयाँ शैक्षिकसत्रमा प्रवेश गरेको शिक्षकलाई वैशाखको धुप, टिनका टहरा अनि नामका लागि मात्र सिलिङमा झुण्डिएका पंखाका कारण पढाउने जाँगर चल्दैन अनि पुनः योजना बन्छ, असार–साउन तिर एक झर्को पानी वर्स्र्यो भने पढाउनु पर्ला भन्ने सोचाँइ जाग्छ, पानी पनि पर्छ तर अफसोच पानीले टिनका टहरामा दर्के आवाज अनि खण्डहर भएका पुराना भवनहरुमा पानी चुहिएर पढाइको कुनै गुन्जायस छैन ।
समयक्रम वित्दै जान्छ हाम्रा महान चाडपर्वले सबैलाई छुन थाल्छ अनि दशैँ तिहारको बिदा पछि द्रुतगतिमा पढ्ने , पढाउने निधो हुन्छ । यस योजनामा गुरुचेला सबैमा खुशी आनन्दको बहार चल्छ । घमाइला दिनमा घामले, चैत–वैशाखमा आँधीहुरीले, बर्षातमा पानीले, अनि पुस–माघमा चिसो सिरिठोले पढाउनीलाई पढाउन अनि पढ्नेलाई पढ्न रत्तिभर मन लाग्दैन । यि समस्या हुन वा बाहाना सरोकारवालाले बेलैमा खोज अनुसन्धान गरी समस्याको चुरो पत्ता लगाइ समाधानका उपाय खोजी गर्नु पर्ने देखिन्छ ।
माथिका समस्यालाई समस्या नमान्ने वातावरण बने पनि पाठ्यपुस्तक समयमा नपुर्याएर अर्को कृत्रिम समस्या खडा गरिन्छ । तिनै तहका सरकार शिक्षक, शिक्षा र शिक्षण प्रक्रियामा आफ्नो प्राथमिकता निर्धारणमा कञ्जुस्याँइ गर्नु पनि एउटा कारक होकि भन्न त्यति पूर्वाग्रही विचार होइन । आर्थिक अभाव तथा तत्कालीन आवश्यकता परिपूर्तिका लागि भौगोलिक अवस्थानूकुल नभए पनि जसले जे दिए पनि स्वीकार्नु पनि यस्ता समस्या जन्माउने सहायक तत्व बन्न गएका छन् । कतै मौसमी पेसा अवलम्बन गर्ने अभिभावकका कारण विद्यार्थीको न्यून उपस्थिति अनि कतै अत्याधिक विद्यार्थी चापले गर्दा पठनपाठनमा नियमितता हुन सकिरहेका छैनन् ।
वर्षौं देखि विद्यार्थी भर्ना अभियान अनि अनिवार्य अभिभावक शिक्षाका कार्यक्रमलाई निरन्तरता दिँदा पनि पढ्ने, पढाउने र पढाइ हुने उपयुक्त मौसम पहिचान हुन नसक्नुमा कसको कमजोरी हो ? आउनुहोस् सबैले यि सबै हाम्रै साझा समस्या हुन भनेर प्रण गरौँ । समाजका हुने खाने र हुदाँ खाने वर्ग बिचको खाडल अन्त्यगरि एउटै देशमा बस्ने नागरिकले प्राप्त गरेको सार्वजनिक शिक्षाको अवसरलाई सरल, सहज र सर्वशुलभ बनाउन हातेमालो गरौँ । योजना निर्माणका तहबाट समय सापेक्ष योजना निर्माण गरियोस्, कार्यान्वयन गर्ने निकायले कार्यान्वयनमा कुनै कसर बाँकी नराखोस् अनि नियमनकारी निकायले उपयुक्त विधिविधानले अनुगमन मूल्यांकन गरियोस् तब पो कर्मीलाई कर्म गर्न हौसला प्राप्त हुन्छ । मरिमेटेर लाग्नेहरु र अनेकन बहानाबाजी गरेर कर्मबाट उम्कनेलाई एउटै तुलामा राख्ने हो भने अलिअलि बचेका कर्मी मौरीहरु पनि घार छोडेर पलायन हुन बेर छैन् । बेलैमा हेक्का होस् । अन्यथा पढ्ने, पढाउने र पढाइ हुने मौसम यस भूमण्डलमा आउने छैन । उपरान्त कक्षाकोठामा पढ्ने विद्यार्थी न पढाउने शिक्षक आफ्ना जिम्मेवारीबाट टाढिनेछन् ।
जेजति कुरा गरे पनि सबैको धेरै थोरै भूमिका यस परिस्थिति निर्माणमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा रहेकोे छ । सबैले म म गरी शैक्षिक वातावरण निर्माणमा लाग्नुपर्छ । एकले अर्कोलाई दोषारोपण गरी पानी माथिको ओभानो बन्नु समाधान नभै समस्या बल्झाउने काम हुन सक्छ अतः केन्द्रको मुख नताकी स्थानीय स्तरबाटै यावत् समस्या समाधान गर्न तर्फ सबै स्थानीय बुद्धिजीवी, भद्रभलाद्मी, साहुमाहजन, समाजसेवी, शिक्षाप्रेमी, सामाजिक कार्यकर्ता तथा राजनीतिक कार्यकर्ता सबै एकजूट भई आफ्नै घरआँगनको सिंहदरबारमा आसिन सरकारलाई सकारात्मक सुझाव सल्लाह दिएमा समाधान गर्न कुनै आईतबार कुर्नुपर्ने छैन । अनि पो ति मलिन अनुहारलाई तेजस्वी अनुहारमा बदल्न सकिन्छ । धन्यवाद ।
प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका ब्यक्तिगत विचारहरु हुन् । – सम्पादक