विक्रम सम्वत् २०५४ सालबाट कक्षा शिक्षण सुरु गरे पनि विक्रम सम्वत् २०५५ सालबाट औपचारिक रुपमा नीजिस्रोत शिक्षकबाट शिक्षण पेशामा आबद्ध भएको हुँ । पारिवारिक पेशा भनौँ वा भाग्यको खेल शिक्षण पेशा नै जीवन ज्यूने आधार बन्न गयो । इच्छा त अनेकन थिए तर नियति र प्रारब्धको फल यसैमा जिन्दगीको यात्रा चलायमान भयो । सोँच्दछु अलिकति मेहनत गरेको भए सेतो गाडीमा म पनि हुइकिदो हुँ ।
शिक्षण पेशाको २४ वर्षमा नीजिस्रोत, अस्थायी, सट्टा शिक्षक अनि स्थायी जागिर खाँदै स्थायी सेवा पनि १६ वर्ष व्यथित भएछ । पढ्दा आफुले दुःख पाएर हो वा पेशाप्रतिको लगाव कक्षा शिक्षणमा कहिल्यै ठग्न, ढाँट्न र छल्न आएन । पढाइ प्रति वर्तमान अवधारणा र सोँचाइले यस क्षेत्रमा दत्तचित्त भएर मरिहत्ते गर्नेहरु कै हत्या हुने प्रवल सम्भावना देखिएको छ । यस विषयमा सोँची दिने को ? गम्भीर प्रश्न खडा भइरहेको छ ।
अभिभावकहरु छोराछोरीको पढाइ, ज्ञान, सिप र क्षमता भन्दा नि उच्च ग्रेडसिटको अपेक्षाले ओतप्रोत छन् । ताजुब लाग्छ ग्रेडसिटले कुनै माने राख्दैन जब सम्म बालकमा कक्षागत क्षमता हुँदैन । कुरा गर्यो कुरैको दुःख, सबैलाई आफ्नो बच्चा कक्षा चड्नु परेको छ, उसले जानोस् वा नजनोस् । कुनै कारणबस शिक्षकसंग वादविवाद भो अनि विद्यार्थीले अङ्क कम प्राप्त गर्यो, कारण शिक्षक बनिरहेको छ । यसमा कुनै सत्यता छैन, ती कस्ति जननी होलिन जसले आफुले जन्माएको सन्तानको गला रेट्ने । सदासर्वदा आफ्ना शिष्यको उन्नति प्रगति सोँच्दासोँच्दै आफ्ना सम्पूर्ण जवानी र उर्वर मस्तिष्कलाई जर्जर बनाउन लागिपर्यो तर पनि यस संसारमा कठै भनि सहारा दिने कुनै समर्थक भेट्दैन । आफू जलेर दुनियाँलाई उज्यालो दिँदादिँदै जिउ अस्तिपञ्जर भइसक्छ तर पनि ऊ समाजका लागि आखिरी स्वाससम्म लागिपर्छ । यस कर्मलाई कसले महत्त्व दिने दुनियाँ नै यस्तै छ, जंघार तर्यो लौरो बिस्र्यो ।
२४ वर्षे शिक्षण पेशाको दौरानमा कतिलाई घाट तराईयो नढाँटी भन्दा अहिलेसम्म एक जनालाई नि शिक्षक बन्नु बाबु भनिएन, भनु पनि किन ? न त यस पेशा प्रति कसैलाई माँया, दया र सहानुभूति छ, पास भएको, तह उत्तीर्ण गरेको, विद्यालय छोडेको वा कुनै सुविधा सम्पन्न क्षेत्रमा प्रवेश गरेको दिन देखि आफूलाई क ख चिनाउने गुरुलाई होस् वा जिन्दगीको कुनै मोडमा शिक्षा दिएको ब्यक्तिलाई कुनै अपरिचित निरिह मनुवाको दर्जामा दर्जित हुन्छ । अनि चोकचौराहामा वर्णीत हुन्छ यो मास्टरलाई कहाँ कहाँ देखे जस्तै लाग्छ ।
अनि कल्पिन्छु, आफुले पढाएका शिष्यको मनोदशा त यस्तो छ अनि नेपाल सरकारका आफुलाई पहिलो दर्जाका नागरिक ठान्ने निजामती कर्मचारीले शिक्षकलाई कुन नजरियाले हेर्छन् होला । निजामती कर्मचारीको हरेक ५–५ वर्षमा बढुवा हुने प्रावधान उनीहरू स्वयम्का बरतबाहुलीले लेखनी हुने अनि शिक्षकलाई के नाताले त्यो सुविधा दिने नी ? न आमा तिरका न मामा तिरका । विक्रम सम्वत् २०५७ सालदेखि यस नेपाल देश नाम गरेको भूमण्लमा कति नयाँ विद्यालय खुले कति कक्षा थप गरिए कति तहगत स्तर उन्नति गरिए शिक्षा क्षेत्रमा राजा साहेबको राहत अनुदान कायम छ ।
कति सरकार परिवर्तन भए कति मन्त्रीले शिक्षा सुधारका लामालामा भाषण गरेर आफ्नो निर्दोष घाँटीलाई दर्द दिएर बेलुका तातोपानीले घाँटी सफा गर्न बाध्य भए, रोग उन्नाइस को बिस भएन । विद्यालय कसरी चलेका छन् कसैको चासो र चिन्ताको विषय बनेन । मेरा बाबै यो देश त राजाले पो खाएको रहेछ । यसलाई फाल्नै पर्छ, गणतन्त्र त आवोस् गाउँगाउँबाट उठेका बस्तीबस्तीबाट उठेकाले सबै सर्लक्कै पार्छन् झै लाग्यो । माखो मरेन बरु बेरोजगार युवायुवतीलाई बाध्यता र बिवस्ताको जन्जीरमा जकडेर घटीघटाउमा शिक्षण पेशामा प्रवेश गराउने गलत प्रवृत्तिलाई बढवा दिइयो । अनि अनेक थरीका शिक्षकहरूको जन्म गराउने रक्तविज तत्कालीन सत्ता बन्न गयो ।
हरेक सरकार रुपि ऋतु परिवर्तनको मौसममा अनेकन लोभ, लालच र आश्वासनका राहत सामग्री जोडतोडका साथ टोलटोलमा वितरण हुन्छ । आफूलाई विश्वास गर्दैनन् कि भनेर ट्रेड युनियनका ठेकेदारहरुलाई जिम्मा लगाईन्छ । हरेक निर्वाचनको जस्तोसुकै जसकोसुकै पक्षमा परिणाम आओस्, सुकुम्बासी समस्या समाधान भए पछि राजनीतिको मसला समाप्त हुन्छ भने झै १७ थरी शिक्षक हाल आएर १८ थरी शिक्षकको समस्या समाधान गर्छु, शिक्षकको बेथा मन्त्रीमण्डलमा नजाँदासम्म मलाई थाहा छ भन्ने गाउँमा माडसाब, मास्टरसाब, माईटरसाब, सर भनि टोपलीएको सोइलाले आफ्नो धरातल सिंहदरबारको पश्चिमपट्टिको मूलगेटबाट भित्र छिरेको दिनदेखि बिर्सन्छ । अनि हामी बबुरा शिक्षक जोसुकैले सत्तारोण गरेनी अवस्था उही व्यवस्था उही ।
सम्झिँदा नि लाज लाग्छ, दुई जना कर्मचारी भएको सरकारी अड्डामा एक जना कार्यालय सहयोगीको व्यवस्था हुन लागेको पञ्चायती शासनकाल देखि हो, विडम्बना प्रथम श्रेणीका प्रधानाध्यापक ३५/३६ जना मातहतका शिक्षक तर त्यहाँ कसले तालाचाबी खेलाउने हो, पानी र सरसफाइको जिम्मा कसले लिने हो कुनै स्थायी टुङ्गो छैन । कार्यालय सहयोगी गाउँलेले घरधुरी ज्याला उठाएर घण्टी लाउने ब्यवस्थापन पनि गर्नुपर्ने हुनसक्छ । किनभने शिक्षा प्रति सरकार उदासीन थियो, छ र यदि हामी नजाग्ने हो भने रहिरहने छ ।
अनि पेशागत ग्यारेण्टी नभएका सयौं साथीहरूका बिचमा मैले मेरो जागिरको बृतिविकासलाई चुत्थो ठाने अनि भन्न मन लाग्छ, न्यायप्रेमी जनपक्षीय, उदारवादी यस सरकारलाई बरु हरेक तह र तप्कामा कार्यरत शिक्षकलाई उचित पारिश्रमिकको ब्यवस्था गरेमा अवकाश दिँदा एक पदोन्नति गर्दा हुन्छ । हाम्रा वर्गीय नेताको सेवा, सुविधा र पदोन्नतिमा भने कुनै कसर बाँकी नराख्नु सरकार । यति भए हामी पनि खुसी, हाम्रा त झन अति खुसी । यस्तै रहेछ यहाँको चलन ।
प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका ब्यक्तिगत विचारहरु हुन् । – सम्पादक