परिचय : बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ मा पर्ने भुरीगाउँ बजारको पुर्वतर्फ डुम्रेनी गाउँ पर्दछ । यो गाउँको उत्तरीछेउमा पुर्व पश्चिम फैलिएको बर्दिया राष्ट्रिय निकुञ्ज ,चुरे पर्वतमालाको दक्षिणी पानी ढलोको पुर्वमा सुर्खेत जिल्लाको हर्रे देखी पश्चिममा गाईनेकाँडा छेउको कर्णाली नदी किनार सम्म फैलिएको छ ।
यो चुरे पर्वत शृङ्खलाको जलाधारबाट उत्पन्न भएका धेरै खोला र खोल्सीहरु बर्दिया राष्ट्रिय निकुञ्जको विशाल मैदानी भाग छिचोल्दै यो निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाउँहरुका बबई नदिको जलप्रणालीमा समाहित हुन पुग्दछन् । डुम्रेनी गाउँको उत्तर पुर्वमा रहेको चुरे पहाडको दोस्रो शृङ्खलाको आमसोतुवा र बुच्कवा मुहानबाट सुरु भएर तल मैदानको लालमटुवा नजिकबाट पश्चिम तर्फ बग्दै भुरीगाउँ बजारको पश्चिम तर्फ सिंहबाहिनी गाउँको छेउबाट प्रहरी चौकी नजिकबाट महेन्द्र राजमार्ग पार गर्ने खोला तलबेलुवा हो ।
यो पनि पढ्नुहोस् : आउनुहोस् बाढीबाट बच्न सबै मिलेर हातेमालो गरौँ
लालमटुवा देखी सिंहबाहिनी सम्म करिव १२ किलोमिटर दुरि पार गर्दै आएको यो खोलामा आम्बासा खोला जलाधार बाहेक पुर्वतर्फको मैदानका अरु धेरै खोला र खोल्सीहरु मिसिएका छन् । यसैगरि बबई नदिको गरकटिया खोलाको जलाधार बाहेक पश्चिम तर्फका अरु सबै खोला र खोल्सीहरु समेत यो तलबेलुवा खोलामा मिसिएका छन । यि कुराहरुबाट तलबेलुवा खोला बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको एउटा ठुलो जलाधार भएको खोला हो भनेर भन्न सकिन्छ ।
तलबेलुवाको पानी प्रयोग
क) डुम्रेनि सिंचाई कुलो : तलबेलुवा खोलाको लालमटुवा नजिक पुर्वी किनारमा बाँध बनाएर निकालिएको कुलो बाट विक्रम सम्वत् २०३० को दशकसम्म डुम्रेनी गाउँको उत्तरपुर्वी छेउका खेतबारिहरुमा सिंचाई हुने गर्दथ्यो । विक्रम सम्वत् २०४० पछि यो गाउँमा बढेको आवादी र बबई नदिको कुलो ब्यवस्थापनका कारणले हाल निकुञ्ज बाहिर यो कुलाको कुनै निशाना समेत भेटिँदैन ।
ख) सिंहबाहिनी, रानीपुर सिंचाई : तलबेलुवा खोला जलाधारको पानीबाट बिगतमा सिंहबाहिनी र रानीपुर गाउँमा समेत वर्षामासमा सिंचाई कुलोहरु सञ्चालन गरिएका थिए ।
तलबेलुवा जलप्रकोपका कारण
क) खोलाको निकासमा बसेको वस्ती : सिंहबाहिनी गाउँ नजिक प्रहरी चौकी क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जबाट तलबेलुवा खोला निस्केको निकास छेउछाउ यो खोलाको फैलावट क्षेत्रमा विक्रम सम्वत् २०६० को दशकपछि बस्ती बस्न सुरु भयो । थपिँदै गएका घरहरुले खोलाको बगर मिच्दै गए फलस्वरुप खोलाको निकास साँघुरिदै गयो । वर्षायाममा उर्लेर आएको खोला यो साँघुरो निकासमा थुनिन जाँदा खोलाले बगाएर ल्याएका ढुँङ्गा, बालुवा र काठपात खोलामा थुप्रीदै जाँदा खोलाको गहिराई पुरिँदै पुरिँदै मुहानतर्फ धकेलिँदै जाँदा पानी बाध्य भएर खोला बाहिर निस्केर बस्तीतर्फ सोरिएको हो ।
ख) निकुञ्ज भित्र क्षयिकरण र ढलापढा काठपात व्यस्थापनमा उदासिनता : चुरे शृङ्खलामा पर्यावरणिय असन्तुलनका कारणले हुने अतिबृष्टी र तिब्र हावाहुरिका कारणले हरेक वर्ष यहाँ भुक्षयका कारणले माटो कटान तथा आगलागीका कारणले वन बिनासको दर बढदो क्रमामा छ । यसबाट हरेक वर्ष तलबेलुवा खोलामा पानी संगै बग्ने ढुँङ्गा, गिट्टी, बालुवा र काठपातको मात्रा बढ्दो क्रममा छ । आगलागी र वर्षातका कारण ढलेर खोलामा बग्दै आएका काठपात र रुखहरुको उचित ब्यवस्थापन गर्न निकुञ्ज प्रशासनले कुनै चासो देखाउँदैन, यो कारणले पनि हरेक बर्ष तलबेलुवा खोला साँघुरिदै र पुरिँदै गएकाले खोलामा अटाउन नसकेको पानी बस्तितिर पस्दै गएको छ ।
ग) गाउँका झरन तथा निकास बन्द गरिनु : भुरिगाउँ क्षेत्र लगायत तराईका हरेक गाउँहरुमा दशैँ अगाडी गाउँघरका सडक, नाली र गल्लीहरु सरसफाई गर्ने चलन थियो । त्यसै गरि यि ठाँउहरुमा वैशाख पछि कुला, नाला र पानीका प्राकृतिक तथा परम्परागत निकास (झरन)हरुको सरसफाई गर्ने चलन थियो । यसबाट बाटाघाटा, नाली, गल्ली र पानीका निकास (झरन) सफा र फराकिला हुन पुगी पानीको उचित निकास र ब्यवस्थापन हुन जान्थ्यो । तर हिजो आज सार्वजनिक सडक, गल्ली र झरनहरु समेत मासिन गइ पानीको बहावमा अवरोध खडा भएकाले पानी बस्तीतिर बग्ने गर्दछ ।
तलबेलुवाले ल्याउने डुबान समस्याको समाधान :
क) खोलाको निकासमा बसेको बस्ति ब्यवस्थापन : तलबेलुवा खोलाको निकास क्षेत्रको जमिन ओगटेर बसेको बस्तीको उचित ब्यवस्थापन गरेर यो खोलालाई पुर्ववत् अवस्थामा बग्न दिनु नै यो समस्या समाधानको सबैभन्दा उत्तम उपाय हो ।
ख) निकुन्ज भित्र खोलामा थुप्रीने काठपात, गिट्टी, बालुवा र ढुङगाको ब्यवस्थापन : खोलाको निकास साँघुरिएका कारण वर्षेनी खोलाको सतहमा थुप्रीदै जाने काठपात, गिट्टी, बालुवा र ढुङ्गाका कारणले खोलाको पानी बस्तितिर पसेर डुबान समस्या थपिएको छ । यसको समाधानका लागि बर्दिया राष्ट्रिय निकुञ्जले खोलामा थुप्रीने काठपातका साथै नदिजन्य पैदावारलाई उचित ब्यवस्थापन गर्नु र गराउनु पर्दछ ।
ग) वस्तिभित्रका नाली, गल्ली, निकास र झरनको उचित ब्यवस्थापन : गाउँबस्ति भित्रका मानिसहरुको बढ्दो आवादी पछि अतिक्रमण भएका पानीका प्राकृतिक र परम्परागत निकासहरुलाई अतिक्रमण मुक्त बनाएर समेत यो समस्यालाई समाधान गर्न सकिन्छ ।
घ) तलबेलुवा डाईभर्सन : तलबेलुवा खोलाको लालमटुवा नजिकको पुरानो डुम्रेनी कुलोको बाँधमा पक्की बाँध बनाएर त्यहाँबाट पुर्वतर्फ नहर खोल्दै त्यो पानीलाई गरकटिया खोलामा मिसाउँदै बबई नदिमा पुर्याउने उपाय यो समस्याको अर्को दिर्घकालिन समाधान हो ।
ङ) बर्दिया राष्ट्रिय निकुञ्जको बचावट : बर्दिया राष्ट्रिय निकुञ्ज र यो छेउको मानव बस्तिको सहसम्बन्ध यो निकुञ्जको एउटा सुन्दर पक्ष हो । खोलाको वहावमा आएको अवरोधका कारणले बस्ति छेउको घना जंगलमा बालुवा थुप्रीएका कारणले त्यहाँको घना सालको जंगल उजाड हुँदैछ । बस्ती छेउको घना बाक्लो जंगल नै निकुञ्जको पर्यटन प्रवद्र्धनको एउटा आधार स्तम्भ हो । यसैले यसको संरक्षणका लागि समेत बर्दिया राष्ट्रिय निकुञ्जले विशेष जिम्मेवारी लिँदै आवश्यक पहलकदमी अगाडी बढाउनु पर्दछ । अगाडी सरोकारवाला सबैको ध्यान पुगोस् ।
प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका ब्यक्तिगत विचारहरु हुन् । – सम्पादक