लामो समयको खडेरी पछि शुक्रबार राति करिव २ घण्टा मात्रै परेको पानीले ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ र २ मा तलबेलुवा खोलाको बाढीले धेरै क्षेत्र डुवानमा परेको छ भने वडा नम्बर ७, ८ र ९ का केहि घरहरूमा पानी पसेको, धान खेती डुवानमा परेको छ ।
वर्षायामसंगै पानी पर्ने क्रम भर्खरै शुरू भएको छ । अझै निरन्तर वर्षाको सम्भावना बढी नै छ जसले गर्दा बाढी र डुवानको समस्या बल्झिने संकेतहरु देखिएका छन । बाढी, पहिरो प्राकृतिक प्रकोप हो । प्रकोप या विपत्ति प्रकृतिसंग जोडिएको हुन्छ । यसलाई चाहेर पनि पूर्ण रूपमा रोक्न सकिँदैन तर यसबाट हुने धनजनको क्षति कम गर्न भने सकिन्छ ।
अहिले ठाकुरबाबा नगरपालिकामा प्रमुख समस्याको रूपमा देखिएको तलबेलुवा खोला नियन्त्रणका लागि विगतमा केही प्रयासहरू भएका पनि छन् । तटबन्धन भएको छ तर हाम्रो कतिपय कानुनी उल्झनका कारण खोलामा थुप्रिएका प्राकृतिक श्रोत भरिदै जाँदा अहिले तटबन्धन पनि पुरै नाघेर खोला बस्तितिर पसिरहेको छ । खोलामा थुप्रिएको बालुवालाई किनारा लगाई खोलालाई आफ्नो बाटोमा बग्ने नबनाएसम्म यो समस्या हरेक वर्षासंगै दोहारिने सम्भावना छ । यतिमात्र नभई अहिले कतिपय घरहरू बाढीका कारणले मात्रै नभई हामीले नै पानीको निकास बन्द हुने गरि बनाएका घर तथा अन्य संरचनाका कारण सानो पानी पर्ने बित्तिकै डुवानमा परिरहेका छन् । त्यसैले यसमा सबै नागरिक सजग हुन जरूरी छ ।
हाम्रा परम्परागत अभ्यासहरू पनि वतावरण मैत्री छन् । वर्षाको पानी निस्केर जाने झरन, कुलाहरू छन् । तर अहिले आफ्नो संरचना बनाउदा परम्परागत अभ्यासलाई विर्सेर ती झरनहरू बन्द गरिदिँदा डुवान भएको देखिन्छ । ठाकुरबाबा नगरपालिकाले विगत देखिनै बाढी पुर्वतयारी सूचना प्रणालीको विकास देखि नदीकटान, तटबन्ध निर्माण, पानी निकासको ब्यबस्था, बाढी बस्तिमा पस्नबाट रोक्न विभिन्न पुर्वाधारको विकास गरिरहेको छ र आगामी दिनमा पनि यस्ता आयोजनाहरूलाई उच्च प्राथमिकतामा राखि निरन्तर काम गर्ने गरि कार्यक्रम अगाडि सारिसकेको छ । तरपनि बाढी र डुवानबाट हुने क्षति कम गर्न सरकारी प्रयास मात्रै सम्भव छैन ।
सरकारसंग हातेमालो गर्दै नागरिकको जिउधनको सुरक्षा गर्नु सबै जिम्मेवार नागरिक राजनीतिक दल, संघसंस्था, नागरिक समाजको कर्तब्य हुन आउँछ । त्यसैले आउनुहोस सबै मिलेर हातेमालो गरौ । आफुले बन्द गरेका पानी निकासका बाटोहरू खोलिदिउ, विपदबाट बचौँ र बचाओैँ ।
प्रकाशित लेखमा समावेश भएका विचारहरु लेखकका ब्यक्तिगत विचारहरु हुन् । – सम्पादक