वर्षायाममा पनि खडेरी भएपछि पानी माग्दै भ्यागुताको बिहे

भुरिगाउँ, बर्दिया : बर्खा लागिसक्दा पनि पानी नपरेर खडेरि परेपछि वर्षाका देवता इन्द्रदेवलाई खुसी बनाउन भन्दै विभिन्न खाले परम्परागत जुक्ति लगाइन्छ । कतै महिलाले दौरा सुरुवाल लगाएर हलो जोत्छन् त कतै महायज्ञ लगाइन्छ भने कतै बाजागाजा सहित भ्यागुताको बिहे गरिदिने चलन पनि छ ।
ठाकुरबाबा नगरपालिका–३, मिर्चैया गाउँका स्थानीयले भ्यागुताको बिहे गरिदिएका छन् । असार महिनाको मध्य बितिसक्दा समेत पर्याप्त पानी नपरेकाले लामो खडेरीका कारण चिन्तित बनेका स्थानीयवासी र कृषकहरु भेला भई पूजापाठ गरी भ्यागुताको बिहे गरिदिएका हुन् ।
भ्यागुताको बिहे गरिदिएपछि पानी पर्ने जनविश्वास रहेकाले भ्यागुताको बिहे गरिएको मिर्चैया गाउँका बडघर राजु थारुले बताउनुभयो । बडघर थारुका अनुसार चलीआएको परम्परा अन्तरगत गाउँका स्थानीय बालबालिकाहरु वर्षाका देवता इन्द्रलाई पानी पारिदिन प्रार्थना गर्दै पानीको आहल बनाएर लडीबुडी खेल्ने परम्परा अनुसारको कार्यक्रम सम्पन्न गरिएको जनाईएको छ । भ्यागुताको विहे पश्चात उपस्थितलाई भोज समेत खुवाईएको स्थानिय खुशराम थारुले बताउनु भयो ।
बर्खाको समयमा पानी नपरेपछि बर्दियाका धेरैजसो किसानले धान खेती लगाउन पाएका छैनन् भने अत्यधिक गर्मीका कारण जनजीवन पनि प्रभावित भएको छ ।

