कोहलपुर, बाँके : पत्रकारिता क्षेत्र अनुशासित र मर्यादित हुन नसकेको भन्दै पारदर्शी समाचार सम्प्रेषण गर्न आवश्यक रहेको कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्यले बताउनुभएको छ । बाँकेको कोहलपुरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजना तथा प्रदेश सरकार लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा संचार मन्त्रालयको सहयोगमा आयोजना गरिएको मिडिया साक्षरता अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
पत्रकारिता क्षेत्र समाज रुपान्तरणको महत्वपूर्ण माध्यम भएपनि पछिल्लो समय अनुशासित र मर्यादित हुन नसकेको भन्दै आगामी दिनमा निष्पक्ष र मर्यादित हुनुपर्नेमा उहाँको जोड छ । यस्तै बिभिन्न किसिमका समाचारहरु लेख्दा सहि र निष्पक्ष ढंगबाट लेख्न सके पत्रकारिता क्षेत्रलाई धेरै अगाडि बढाउन सकिने बताइएको छ । बाँके र बर्दियाका पत्रकारहरुका लागि आयोजना गरिएको मिडिया साक्षरता अन्तरक्रिया तथा क्षमता अभिबृद्धि कार्यक्रम आषाढ १८ र १९ गते कोहलपुरमा आयोजना गरिएको थियो भने नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणका क्रममा आचार्यले मिडिया साक्षरता भित्र मिडियामा पहुँच, बिश्लेषण, मिडिया सामाग्री उत्पादन गर्ने क्षमता पर्ने भएकोले सञ्चार माध्यामका प्रयोगकर्ताहरु इन्टरनेट, टेलिभिजन, रेडियो, पत्रपत्रिका, पुस्तकहरु, बिलबोर्डहरु, भिडियो गेमहरु, संगित र आमसञ्चारका अन्य सबै रुपहरुबाट जटिल समस्याहरु बुझ्न सक्षम भएको वा नभएको आधारमा मिडिया र सुचना साक्षरताको अवस्था बुझ्न सकिने बताउनुभएको छ । यस्तै मिडिया साक्षरताका लागि नेपालका बिभिन्न विश्व बिद्यालय, प्रेस काउन्सिल, पत्रकार महासंघ, युनेस्कोसहित बिभिन्न सस्था, निकाय र व्यक्तिले समेत बिभिन्न कार्य गर्नुका साथै पत्रकार महासंघले देशव्यापी रुपमा गरिरहेका मिडिया प्रतिको जनगुनासो सम्बन्धि सार्वजनिक सुनुवाई, महासंघका सदस्यका लागि सामाजिक संजालको प्रयोग सम्बन्धि गाइडलाइन एवम् जनसरोकारका मुद्धामा समाचार लेखन सम्बन्धि तालिम र फेलोसिप सहितका बिभिन्न कार्यक्रम भइरहेको जानकारी दिनुभयो ।
मिडिया साक्षरता कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरेले मिडिया साक्षरता तालिमले समाचार सम्प्रेषणमा ठुलो योगदान पुर्याउने बताउनुभयो । यस्तै १ हजार ७ सय बढि पत्रकारहरुको हकहितका लागी पत्रकार महासंघले बिभिन्न किसिमका तालिम अन्तक्रिया गोष्ठिहरु संचालन गर्दै आएको र आगामी दिनमा पनि यस्तै किसिमका तालिम छलफलहरु निरन्तर गर्दै जाने बताउनुभएको छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यबाहक अध्यक्ष शुक्रऋषि चौलागाइको अध्यक्षतामा सम्पन्न भएको मिडिया साक्षरता कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, कोहलपुर नगरपालिकाका नगरप्रमुख पुर्ण प्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी, बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्यामकुमार साह, काँग्रेस बाँकेका उपसभापति कृष्ण कार्की, कोहलपुरका डिएसपी ऐनबहादुर मल्ल, पत्रकार महासंघ बाँकेका कार्यबाहक अध्यक्ष करुणा शाह, प्रेस युनियनका अध्यक्ष अर्जुन वली, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल लगायतका पत्रकारहरुको उपस्थिति रहेको थियो ।