वर्खा लागेसंगै मधुवनमा जंगली हात्तीकाे आंतक बढ्याे

मधुवन, बर्दिया : वर्खा लागेसंगै मधुवन नगरपालिकामा जंगली हात्तीको आंतक बढ्न थालेको छ । हिजो राती (असार १६ गते) मधुवन नगरपालिका वडा नम्बर ३, कोठियाघाट गाउँमा जंगली हात्तीले दुईवटा घर भत्काएको छ ।
भारतको कतर्नियाघाट वाइल्ड लाईफ सेन्चुरीबाट राती ९:४५ बजे तिर आएको हात्तीले कोठियाघाट सामुदायिक वन उपभोक्ता समुहका सदस्य नन्दराम जैसीको घर भत्काएको हो । घरमा रहेका सामानको क्षती भए पनि मानवीय क्षति भने नभएको प्रहरी कार्यालयले जनाएको छ । हरेक वर्ष खाता जैविक मार्गमा जंगली जनावर हात्ती, बाघ र चितुवाले यस क्षेत्रका बासिन्दाहरुलाई दुस्ख दिने गरेको छ । जंगली जनावरले अन्नबालीको नोक्सानी, पशुचौपाया मार्ने र घर भत्काउने गरे पनि समयमा राहत नपाउने स्थानीयहरुको गुनासो रहेको छ ।
खाता क्षेत्रका बासिन्दा अन्नबाली जोगाउन खेतीको समयमा हरेक दिन जस्तो जागाराम बस्ने गर्छन् । रातीको समयमा कुरुवा नबस्ने हो भने अन्नबाली सबै जंगली हात्तीले नष्ट गरिदिन्छ । जंगली जनावरले क्षती पुर्याए पनि कृषकहरुले भने समयमा राहत पाउन नसक्दा कैयौं दिन भोकभोकै बस्नु पर्ने अवस्था पनि आउने गरेको छ ।
जंगली हात्तीले घर भत्काएमा विपद ब्यवस्थापन कोषबाट खाध्यन्न तथा त्रीपाल राहत स्वरुप दिन सकिने मधुवन नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष मीन बहादुर थापाले बताउनु भयो । नेपाल सरकारले दिने राहत प्रक्रिया झन्झटिलो रहेको जनगुनासो आए संगै राहत वितरण कार्यलाइ सरल र सहज बनाउन स्थानीय सरकारले भुमिका खेल्नु पर्ने थापाले बताउनु भयो ।