
भुरिगाउँ, बर्दिया : लुम्बिनी प्रदेशको पश्चिमी सिमाको रुपमा रहेको बर्दिया जिल्ला अन्नको भण्डारको रुपमा चिनिन्छ । जिल्लाको राजापुर धानको लागि प्रख्यात क्षेत्र हो । अन्न भण्डारको रुपमा प्रख्यात रहेको बर्दिया जिल्लाका कृषकहरुले धान रोपाईं गर्न सुरु गरि सकेका छन् । तर, धान रोपाईका बेला आवश्यक पर्ने रासायनिक मल नपाउँदा कृषकहरुमा भने निराशा छाएको छ ।
जिल्लामा वर्षेनी ५० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा धानको खेती गरिन्छ । जसका लागि वार्षिक १३ हजार मेट्रिक टन रासायनिक मलको आवश्यकता पर्ने गर्दछ । तर सरकारले रासायनिक मलको आपुर्ती सहजरुपमा गर्न नसक्दा कृषकहरुले आवश्यकता अनुसार रासायनिक मल पाउन सकेका छैनन्, भने आवश्यकता अनुसार मल नपाउँदा उत्पादन घट्ने चिन्ता कृषकहरुमा छ । रासायनिक मल बिना नै धानको बियाड राखेका कृषकहरुले मल बिना नै रोपाईं पनि गरिरहेका छन् । मल बिना नै रोपाईं गरेका कृषकलाई फेरी अर्को चिन्ता छ, गोड्मेल गर्ने बेलामा पनि मल पाइन्छ कि पाईंदैन भन्ने ।
रासायनिक मल खरिदका लागि कृषकहरु स्थानिय कृषि सहकारीहरुमा पुगे पनि मल पाउन नसकेको गुनासो गर्ने गरेका छन् । ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ र ५ मा बिक्रीको अनुमती पाएको हिमालय सहकारी संस्थाका कर्मचारी हरी प्रसाद थारुका अनुसार कृषकहरुले सहकारीले पर्याप्त मात्रामा मल नल्याएको भनेर गुनासो गरे पनि सहकारीलाई मल उपलब्ध गराउने जिम्मा पाएको कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ्ग कर्पोरेशनले माग अनुसार आफुहरुलाई मल नदिँदा समस्या परेको बताउनु भयो ।
कृषि सामग्री कम्पनीले वर्ष भरीका लागि ७ हजार मेट्रिक टन युरिया, ६ हजार मेट्रिक टन डिएपी र २ हजार १ सय मेट्रिक टन पोटास माग गरेको थियो । भैरहवास्थित कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालयले युरिया भने १ बोरा पनि पठाएको छैन । डिएपी ३ सय ५० मेट्रिक टन र पोटास १ सय ५० टन मल पठाएको कृषि सामग्री कम्पनी शाखा बर्दियाका प्रमुख मोहनसिंह केसीले बताउनु भयो । करिब ५२ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने जिल्लामा न्यून मात्रामा पठाइएको मलले समस्या ल्याएको र सहकारी संस्थाहरुले मलको माग गरिरहेपनि पुराउन नसकिएको प्रमुख केसीले बताउनु भयो ।
तीनै तहका सरकारले कृषि क्षेत्रलाई आफ्नो नीति तथा कार्यक्रममा मुख्य प्राथमिकतामा राख्ने गरेका छन् । तर किसानले न मल पाएका छन् न त प्राविधिक सहयोग नै । आवश्यक मल अभावका कारण अन्नको भण्डार मानिने बर्दियामा यस वर्ष तुलनात्मक रुपमा कम उत्पादन हुने अनुमान गरिएको छ ।