बर्दिया : ठाकुरबाबा नगरपालिकालाई ‘पुर्ण खोप’ सुनिश्चित नगर घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच जिल्ला खोप समन्वय समितिले ठाकुरबाबालाई पुर्ण खोप सुनिश्चित नगर घोषणा गरेको हो । स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पुर्ण खोप सुनिश्चित ठाकुरबाबा नगरपालिका हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका सात ठाकुरबाबालाई पुर्ण खोप शुनिश्चित नगर घोषणा गरीएको हो ।
केही वर्ष पहिला खोप नपाएका कारण दादुरा, रुबेला, पोलीयो जस्ता रोगले नाबालकहरुको ज्यान जाने गरेको नगरपालिकामा पछिल्लो समयमा भने बालमृत्युदरमा निकै कमी आएको छ । स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जन्मेदेखि १५ महिनासम्मका बच्चाले पाउने १३ प्रकारका खोप पाईसकेको बताउनुभयो ।
प्रमुख गिरीका अनुसार शिशु जन्मने वित्तिकै क्षयरोग बिरुद्धको (बिसीजी), भ्यागुते, धनुस्टङकार, लहरे, हेपाटाईटिस लगायतका सबै खोप दिईएको छ । जन्मेदेखि १५ महिना र बाँकी छुटपुटलाई २४ महिना भित्रै सबै खोप दिईसक्नुपर्छ उहाँले भन्नुभयो शिशुले सबै खोप पाएपछि उ निरोगी हुन्छ । ठाकुरबाबा नगरपालिकामा झण्डै १६ सय बालबालिकालाई खोप दिईएको उहाँको भनाई छ ।
यस्तै जिल्ला खोप समन्वय समितिका अध्यक्ष सुर्य बहादुर बिष्टले खोप नपाएकै कारण समाजमा कतीपय ब्यक्तीहरुका बंश नै नास भएको १०, १२ वटा बच्चा जन्माउदा समेत एक– दुईवटा बच्चा मात्रै बाँच्ने गरेको तथ्याकं भेटिदै आएकोमा खोप संचालनमा आएपछि मृत्युदरमा कमी आएको बताउनुभयो । उहाँले भन्नुभयो महिला स्वास्थ्य स्वयंसेविकाको अथक प्रयासपछि र नियमित खोप लगाउन थालेपछि बाल मृत्युदरमा कमी आएको छ । जन्मीएदेखी २३ महिना उमेर भित्रका नब्बे प्रतिशत बालबालीकाहरुले अहिले नियमित खोप पाएका छन् । खोप लगाउन छुटेका बालबालीकाहरुलाई पनि खोपको पहुँचमा ल्याउन स्वास्थ्य कार्यलय बर्दियाले तथ्याङ्क संकलन गर्ने काम समेत गर्दै आएको छ ।
यस्तै ठाकुरबाबा नगरपालिकाकी नगरउपप्रमुख विना कुमारी भट्टराइले रोजगारीमा गएका अभिभावकका बालबालिकाहरु खोप लगाउन छुट्ने गरेको र घरघरमा सचेतना अभियान नपुग्दा खोप लगाउन नमान्नेहरुको संख्या बढी भएपनि बिस्तारै सबैलाई खोपको पहुँचमा ल्याईएको बताउनुभयो ।