onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

मल लिन बिहानै सीमापारी

Sambad ADD long

बर्दिया : बारबर्दिया नगरपालिका-२, ढुंग्रहीका पुरन थारु बिहान साइकल चढेर करिब २० किलोमीटर दुरी पार गरेर भारतीय सीमा चित्तलवा पुगे । धान खेतीका लागि मल नपाएपछि उनीसंगै सोही गाउँका लालुराम थारु मल लिएर नेपालको सीमा कालाबन्जर पुगे ।

बारबर्दिया नगरपालिका-२ का सन्तराम थारुले सरकारले मल उपलब्ध गराउन नसक्दा भारतबाट ल्याउन लागेकोमा प्रहरीको कडाईले समस्यामा परेको बताए । एसएसबीले एक जनालाई एक बोरा (५०) किलो युरिया मल ल्याउन छुट दिएको छ,’ उनले भने, ‘बिहान ४ बजे भोक भोकै चिया नास्ता नखाएर मल लयाउन कति दुःख झेल्नु परेको छ ।’ एक जनालाई एक बोरा मल ल्याए पनि खेतलाई नपुग्दा पुनः भारत जाँदा किसानलाई तस्करी गर्न आएको भन्दै दुःख दिने गरेको किसानको गुनासो छ । भारतीय सीमामा १ हजारदेखि ११ सयसम्ममा ५० किलो मल खरिद गर्न पाइन्छ ।

भारतबाट मल ल्याउन रोकटोक गर्न नहुने किसानको भनाइ छ । तस्करले भारतबाट ल्याएको मल महँगोमा बेच्ने गरेकोले त्यसलाई रोकथाम गर्न कडाइ गरेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए । किसानलाई बिहानदेखि बेलुकीसम्म मल ल्याउन छुट दिएका छौं,’ उनले भने, ‘किसानका नाममा तस्करले मल तस्करी नगरुन भन्दै कडाइ गरेका छौं ।’

कृषि सामग्री कम्पनीले वर्ष भरीका लागि ७ हजार मेट युरिया, ६ हजार मेट डिएपी र २ हजार १ सय मेट पोटास माग गरेको थियो । भैरहवास्थित कृषि सामग्री कम्पनीको क्षेत्रीय कार्यालयले युरिया भने १ बोरा पनि पठाएको छैन । डिएपी ३ सय ५० मेट र पोटास १ सय ५० टन मल पठाएको कृषि सामग्री कम्पनीका प्रमुख मोहनसिंह केसीले बताए । करिब ५२ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने जिल्लामा न्यून मात्रामा पठाइएको मलले जिल्लाका समस्या ल्याएको कम्पनीका प्रमुख केसीले बताए ।

सहकारी संस्थाले मलको माग गरिरहेपनि पुराउन नसकिएको प्रमुख केसीले जनाए । कम्पनीले सहकारी संस्थालाई मल उपलब्ध गराउँदै आएको छ । जिल्लामा १ सय १५ सहकारी संस्था रहेका छन् । साभार : कमल पन्थी/कान्तिपुर

Leave A Reply

Your email address will not be published.