onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरसभा : उज्यालो पालिका देखी पहिचान युक्त वडा निर्माण सम्म

थारु संस्कृतिको संरक्षणका लागि नमूना थारु गाउँ निर्माण गरिने

Sambad ADD long

भुरिगाउँ, बर्दिया : नगरप्रमुख तिलकराम लम्सालको अध्यक्षतामा ठाकुरबाबा नगरपालिकाको कार्यालयले एघारौँ नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा आगामी आर्थिक वर्ष २०७९/८० का लागि नगर उप–प्रमुख बिना कुमारी भट्टराईले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

प्रस्तुत निति तथा कार्यक्रममा कृषिलाई आर्थिक वृद्धि र रोजगारीको प्रमुख संवाहकको रुपमा विकास गरिने, कृषि क्षेत्रको आधुनिकीकरण गरी आर्थिक वृद्धिको आधारलाई थप बलियो बनाइने, कृषिलाई यान्त्रिकरण, वैज्ञानिकीकरण तथा व्यवसायिकरण गर्दै निर्वाहमूलक कृषिलाई उत्पादनमुखी तथा निर्यात उन्मुख बनाउन नगरपालिका भित्रका मुख्य बाली उत्पादन क्षेत्रको पहिचानका आधारमा कृषि पर्यटनमा आधारित अर्गानिक कृषि उत्पादन क्षेत्र तरकारी, धान, दलहन, तेलहन, मौरीपालन बेमौसमी तरकारी खेती तथा कृषि पकेट क्षेत्र कार्यक्रम संचालनमा निरन्तरता दिइने बताइएको छ ।

कृषि उत्पादनको बजारीकरण र भण्डारणका लागि नीजी तथा सहकारी संस्थाहरु संगको साझेदारीमा कृषि उपज संकलन केन्द्र र शीत भण्डार निर्माण गरिने, सङ्घीय तथा प्रदेश सरकार समेतको समन्वयमा कृषकले उत्पादन गरेका कृषी उपज बजारीकरण गर्न आवश्यक सहयोग गरिनुका साथै विपद् व्यवस्थापन कोषबाट दिँइदै आएको राहतलाई कृषि तथा पशु बीमा कार्यक्रमसंग जोडिने जनाइएको छ ।

सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र पारदर्शी बनाउने नीति लिने, एकिकृत कार्यालय व्यवस्थापन प्रणाली अपनाई कागजको प्रयोग क्रमशः कम गर्दै लगिने बताइएको छ ।

उज्यालो पालिका अन्तरगत गाउँबस्तिमा विद्युत सेवाको विस्तार, विपद सूचना केन्द्रको स्थापना गर्ने कार्य प्रमुख प्राथमिकतामा

ओराही, बबई, आम्बासा र कर्णाली नदीको पूर्वी भङ्गालो खौराहा, जम्ती, गिठे, रजकुला, तलवेलुवा बदवुरुवा, जरही खोला लगायतका नदी तथा खोला नियन्त्रणका लागि तटबन्धनको व्यवस्था तथा जोखिमबाट प्रभावित क्षेत्रहरुको पहिचान गरी पूर्वतयारी योजना निर्माणका साथै विपद् व्यवस्थापन कोषलाई निरन्तरता दिइने नगरसभामा प्रस्तुत निति तथा कार्यक्रममा बताईएको छ ।

नगरपालिकामा विपद सूचना केन्द्रको स्थापना गरी संचालन गर्ने, हरियाली प्रवद्र्धन कार्यक्रमलाई टेवा पुर्याउन कालोपत्रे सडकहरूको दायाँबायाँ वृक्षारोपण कार्यक्रमलाई अनिवार्य गर्ने, सार्वजनिक समारोहहरुमा खादा तथा आयातित मालाहरुको प्रयोग नगर्ने अभियान संचालन गरिने, शिक्षा स्वास्थ्य लगायत सम्पुर्ण क्षेत्रहरुको आधारभुत तथ्याङ्कहरु अध्यावधिक गरी संघिय सरकारबाट तयार गरिने सफ्टवेयरमा नगर प्रोफाइल तयार गरिने जस्ता कार्यक्रहरु समेटिएका छन् ।

निति तथा कार्यक्रममा सार्वजनिक सेवालाई सरल, सहज, सुलभ र पारदर्शी बनाउने नीति लिने, एकिकृत कार्यालय व्यवस्थापन प्रणाली अपनाई कागजको प्रयोग क्रमशः कम गर्दै लगिने, संघीय सरकारको नीति अनुरूप नगरपालिका र नगरपालिका अन्तरगत रहेका कर्मचारीहरुको वृत्ति विकास गरी उच्च मनोबलका साथ काम गर्न प्रोत्साहित गरिने बताइएको छ ।

उज्यालो ठाकुरबाबा बनाउने अभियान अन्तरगत हरेक गाउँबस्तिमा विद्युत सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिने, बैंक तथा वित्तिय संस्थाहरुलाई नगरपालिकाले पहिचान गरेका प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने तथा साना कृषकहरुलाई बिना धितो नगरपालिकाको सिफारिसमा ऋण उपलब्ध गराउने कार्य अगाडी बढाउने योजना समावेश गरिएको छ ।

एउटा प्राविधिक विद्यालय थप गरी विज्ञान विषय अध्यापन गर्ने कार्यलाई सहज र प्रभावकारी बनाउदै लगिने

निःशुल्क तथा अनिवार्य शिक्षा र माध्यमिक तहको शिक्षालाई क्रमश निःशुल्क तथा अनिवार्य गर्दै जाने नीति अनुरूप कक्षा १२ सम्म बिद्यालयमा लाग्ने व्यवस्थापन खर्चका लागि शुल्क लिन नपर्ने गरी आवश्यक व्यस्थापन गरिने बताइएको छ । नगरसभामा ठाकुरबाबा नगरपालिकाको नगर उप–प्रमुख बिना कुमारी भट्टराईले निति तथा कार्यक्रम प्रस्तुत गर्दै कक्षा ११ र १२ मा विज्ञान विषय अध्यापन गर्ने कार्यलाई थप सहज र प्रभावकारी बनाउदै लगिने बताउनु भयो ।

सार्वजनिक शिक्षाका माध्यमबाट मानव संशाधन विकास गर्ने गरी २ वटा प्राविधिक धारका विद्यालयहरुमा कोटा अनुसारको कक्षा सञ्चालन गर्न प्रेरित गरिने, गुणस्तरीय शिक्षाका लागि गरेर सिक्ने प्रविधिको विकासको लागि प्रदेश सरकारसंग समन्वय र सहकार्य गरिने, वडा नम्बर ९ मा थप एक प्राविधिक विद्यालय सञ्चालन गरिने कार्यक्रम प्रस्तुत गरिएको छ ।

नगरबासीका स्वास्थ्य तर्फ स्वस्थ नगरवासी, स्वस्थ नगर भन्ने नारालाई लागु गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गरिने, पालिकामा रहेका ४ वटै स्वास्थ्य चौकीका ल्याबहरुबाट हरेक ३-३ महिनामा मधुमेह, रक्तचाप, युरिक एसिड, थाइराइड जस्ता रोगहरुको परीक्षण पहिचान तथा निदान गरी आम नगरबासीलाई मेरो स्वास्थ्यमा नगरको चासो भावनाका साथ आफ्नो दैनिकी तथा आहार विहारमा परिवर्तन गरी नसर्ने रोगबाट हुने सम्भावित घटनाहरुलाई न्यूनीकरण गरिने जनाइएको छ ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुरमा निर्माणधिन अवस्थामा रहेको नगर अस्पताल भवन निर्माणलाई निरन्तरता दिई २ वर्ष भित्र पुरा गरिने, आधारभूत नगर अस्पतालमा एम.बि.बि.एस. डाक्टरको सेवालाई निरन्तरता दिई थप जनशक्तिसहित उपचारलाई व्यवस्थित बनाइने जस्ता कार्यहरु निति तथा कार्यक्रममा समेटिएका छन् ।

वडाहरुलाई आफ्नै विशेष पहिचानयुक्त वडाको रूपमा विकसित गर्दै लगिने

ठाकुरबाबा नगरपालिकामा पाहुनालाई फूलले स्वागत गरौं अभियानका लागि व्यवसायिक पुष्प खेतीको प्रवर्धन गरी प्लाष्टिक झोला, खादा र ब्याचको प्रयोगलाई निरुत्साहित गरिने प्रस्तुत निति तथा कार्यक्रममा जनाइएको छ । पर्यटकहरुलाई सूचना प्रवाह गर्न तथा ठाकुरबाबामा आकर्षित गर्न सूचना मूलक सामाग्री तयार गरी काठमाण्डौ, पोखरा, लुम्बिनी र नेपालगन्ज विमानस्थलमा प्रसारण गर्ने व्यवस्था मिलाइने, कोभिड–१९ का कारण समस्यामा परेका पर्यटन व्यवसायीलाई राहत दिन यस आर्थिक वर्ष भित्र व्यवसाय नवीकरण गर्ने पर्यटन व्यवसायीहरुलाई कोरोना समयको व्यवसायिक करमा छुट दिइने बताइएको छ ।

यस्तै प्लाष्टिक न्यूनीकरणका लागि वैकल्पिक व्यवस्था गर्न दुना–टपरी, कपडाका झोला निर्माण गर्ने साना उद्योग खोल्न चाहनेलाई अनुदान तथा प्रोत्साहन गरिने, ठाकुरबाबा नगरपालिकाका ९ वटै वडाहरुलाई आफ्नै विशेष पहिचानयुक्त वडाको रूपमा विकसित गर्दै लगिने, यस क्षेत्रको पहिचानको रुपमा रहेको थारु संस्कृतिको संरक्षणका लागि नमूना थारु गाउँ निर्माण गर्न पहल गरिने निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

  • समाचारसंग समावेश गरिएका सबै तस्बिरहरु “मेयर तिलकराम लम्सालको सचिवालय” फेसबुक पेजबाट साभार गरिएका हुन् । -सम्पादक
Leave A Reply

Your email address will not be published.