
बर्दिया : जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेसको समूह निर्विरोध निर्वाचित भएका छन् । जिल्ला समन्वय समितिको प्रमुख, उप–प्रमुख सहित ९ सदस्यीय पदका लागि निर्वाचन प्रकृया अनुसार जिल्ला समन्वय समिति बर्दियामा नेपाली कांग्रेसको समूह निर्विरोध निर्वाचित भएका हुन् ।
जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष सुर्य बहादुर बिष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । उप–प्रमुखमा गुलरिया नगरपालिकाकी अमिता कुमारी यादव निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी सदस्य पदमा गुलरिया नगरपालिकाबाट बिनय राजभण्डारी, गेरुवा गाउँपलिकाबाट तिर्थ प्रसाद जैसी, बढैयाताल गाउँपलिकाबाट पुरैलाल थारु, बारबर्दिया नगरपालिकाबाट सुनिता नेपाली, मधुवन नगरपालिकाबाट छवि भाट क्षेत्री, राजापुर नगरपालिकाबाट बिमला थारु र बाँसगढि नगरपालिकाबाट खगिसरा कामी निर्विरोध निर्वाचित हुनुभएको मुख्य निर्वाचन कार्यालय बर्दियाका मुख्य निर्वाचन अधिकृत लोकजंग शाहले शनिबार घोषणा गर्नुभयो ।
आठ स्थानीय तह रहेको बर्दियामा गएको बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ५ पालिकामा नेपाली कांग्रेस विजयी भएको थियो । गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, गेरुवा गाउँपालिकामा प्रमुख र उप–प्रमुख तथा ठाकुरबाबा नगरपालिकामा भने प्रमुखमा नेपाली काँग्रेस विजयी भएको थियो । यसैगरी बाँसगढि नगरपालिकाको प्रमुख, उपप्रमुख यस्तै ठाकुरबाबा नगरपालिकाको उपप्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमाले विजयी भएको थियो ।
राजापुर नगरपालिकाको प्रमुख, उप-प्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओबादी केन्द्र विजयी भएको थियोे । नेपाली कांग्रेस ९, नेकपा एमाले ४ र नेकपा माओवादी केन्द्र ३ गरि जिसस समिति चयनका लागि १६ मत मध्ये नेपाली कांग्रेसको ९ मत भएका कारण पनि अन्य दलको उम्मेदवारी नपर्दा जिल्ला समन्वय समितिमा नेपाली काँग्रेस निर्विरोध निर्वाचित भएको हो ।
जिल्ला समन्वय समितिका लागि जेष्ठ २४ गते उम्मेदवारी दर्ता र जेष्ठ २८ गते निर्वाचन हुने निर्वाचन कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियोे । अन्य दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति पदाधिकारीमा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम प्रमुख, उप–प्रमुख तथा सदस्य पदहरुमा कांग्रेसका उम्मेदवारहरु र्निविरोध निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत एव्म् जिल्ला न्यायाधिश लोकजंग शाहले निर्वाचित प्रमुखलाई र उप–प्रमुखलगायत सदस्यहरुलाई नवनिर्वाचित समन्वय प्रमुख बिष्टले शपथ ग्रहण गराउनु भएको छ । प्रमाणपत्र हस्तान्तरणपछि नवनिर्वाचित प्रमुख तथा उपप्रमुखले जिल्ला समन्वय समितिमा पद बहालि गरेका छन् ।
जिल्ला समन्वय समितिको प्रमुखमा ठाकुरबाबा नगरपालिका वडानम्बर ४ का वडाअक्ष निर्वाचित भएपछि रिक्त रहेको वडामा पुनः निर्वाचन हुने प्रावधान छ । निर्वाचन आयोगले वडाध्यक्ष रिक्त रहेको वडामा ६ महिनाभित्र उपनिर्वाचन गर्ने जनाएको छ ।