नुवाकोट जिल्ला नेपालको मानचित्रमा गण्डकी प्रदेश अन्तरगत रहेको एक मध्ये पहाडी जिल्ला हो । उत्तरमा रसुवा जिल्लाको सिमाना जोडिएको झण्डै अर्धचन्द्रकारको रुपमा पूर्व–पश्चिम फैलिएर रहेको भौगोलिक बनावटमा पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू–भागको अंश १८ प्रतिशत तथा टार, बेशी र समथर भू–भागको अंश ११ प्रतिशत रहेको छ भने नुवाकोट जिल्ला २७–४५ देखि २८–२० उत्तरी अक्षांश सम्म र ८५–० देखि ८५–४५ पूर्वी देशान्तर सम्म अवस्थित रहेको छ ।
कुल ११२१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस जिल्लाको सदरमुकाम बिदुर हो । यस जिल्लामा तादी र त्रिशुली नदीको संगम देविघाट र नुवाकोट ७ तले दरवार जस्ता ऐतिहासिक महत्त्वका ठाउँहरू समावेश छन् । प्रशिद्ध धार्मिक क्षेत्र गोसाईकुण्ड र मनोरम पर्यटकीय हिमाली भेग लाङटाङ क्षेत्र जाने प्रमुख पर्यटकीय मार्ग रहेको नुवाकोट जिल्ला मल्लकालीन समयमा पश्चिम नेपालको मूल ढोका, नेपाल भोट (तिब्बत) बाणिज्य व्यापारको परम्परागत मुलद्वार पनि रहेको थियो ।
बेलकोट, मालाकोट, धुवाकोट, भैरुमकोट, कालिकाकोट, सल्यानकोट, सिमलकोट, धैबुङकोट, प्यासकोट जस्ता नौ वटा कोट वा किल्लाहरुको संगम भूमिको रुपमा परिचित नुवाकोटलाई गोपालवंश देखिनै नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट क्रमशः परिमार्जन हुदै हालको नुवाकोट नामाकरण भएको हो ।
समुन्द्र सतह न्यूनतम ४५७ मिटर देखि अधिकतम ५१४४ मिटर उचाई सम्म भू–धरातल रहेको क्षेत्रफल ११२१ बर्ग किलोमिटर छ । यस जिल्लालाई १० गाउँपालिका र २ नगरपालिकामा विभाजन गरिएको छ भने यो जिल्ला राजधानी संग समेत जोडिएको ऐतिहासिक, राजनैतिक, भौगोलिक दृष्टिकोणले नेपालकै महत्वपूर्ण जिल्ला हो । २०६८ सालको जनगणना अनुसार कुल जनसंख्या २,७८,७६१ र परिवार संख्या ६१,९५० रहेको छ । यो जिल्ला राजधानी देखि सदरमुकाम सम्म ६८ किलोमिटरको दुरीमा छ भने जनघनत्व २४९ किलोमिटर र नेपालको कुल जनसंख्याको १.०४ प्रतिशत स्थान ओगटेको छ । यस जिल्लाको पूर्वमा सिन्धुपाल्चोक, पश्चिममा धादिङ्ग, उत्तरमा रसुवा र दक्षिणमा काठमाण्डौ जिल्ला पर्दछ ।
अनलाइन सम्वादका फोटो पत्रकार विनोद अधिकारीले आफ्नो क्यामेरामा कैद गरेका नुवाकोटका केही तस्विरहरु यहाँ समावेस गरिएको छ ।