सन्दर्भ १ :
नायक राजेश हमालले पहिलो फिल्म ‘भाग्यरेखा’ साइन गर्दा उनलाई १० हजार रुपैयाँ दिइएको थियो र नायिका करिश्मा के.सी.ले त्यतिवेला नायकले भन्दा ५ हजार रुपैयाँ बढी पाए मात्र खेल्ने भन्ने शर्तमा ‘भाग्यरेखा’ फिल्म छोडेकी थिइन्, पछि कृष्टि के.सी.ले नायिकामा प्रवेश गरिन् । तर सिनेमामा दुवै जना नायक नायिका नरहे पनि सिनेमा बन्यो, तर चलेन । यो २०४४ सालको कुरा थियो, यो राजेश हमालले चलचित्रको निम्ति पाएको पहिलो रेट थियो ।
सन्दर्भ २ :
भारतको बलिऊड भनिने सिने उद्योगमा प्रवेश गर्दा अमिताभ बच्चन प्रसिद्ध कवि डा. हरिवंश राय वच्चनका पुत्र भनेर चिनिन्थे, उनी कोलकत्ताको बड एन्ड बड इन्टरन्याशनल कम्पनीमा म्यानेजर भएर काम गर्थे । कोलकत्ताबाट उनी पन्ध्र हजार रुपैयाँको तलब छोडेर पहिलो फिल्म ‘सात हिन्दुस्तानी’ खेल्न आए, लेखक ख्वाजा अहमद अब्बासको फिल्ममा उनलाई अब्बासले १० हजार रुपैयाँमा साइन गरेका थिए । सन् १९६९ मा यो त्यतिवेलाको धेरै धनराशि थियो । यो उनको पहिलो पारिश्रमिक थियो ।
‘सात हिन्दुस्तानी’ पछि अमिताभ बच्चनले धेरै सफल-असफल फिल्म खेल्दै सन् १९७५ मा ‘शोले’ सम्म आइपुग्दा उनले एक लाख रुपैयाँ पाए । ‘सात हिन्दुस्तानी’ बाट ‘शोले’ सम्म आइपुग्दा उनको फिल्मी जीवनको छ वर्ष वितिसकेको थियो । केवल छ वर्षमा उनको रेट १० हजार रुपैयाँबाट १ लाख रुपैयाँमा चढिसकेको थियो । भारत र नेपाल दुई अलग अलग देश भए पनि बजारतन्त्रले यसमा तात्विक असर पारेको देखिन्छ । अमिताभ बच्चन र राजेश हमालको समय फरक भए जस्तै बजार पनि फरक थियो तर, यो बजारसँगै यसले तोक्ने अन्य सबै तत्व फरक नै थियो ।
भारतका पहिलो सुपरस्टार राजेश खन्ना पछि सर्वाधिक चर्चामा आएका अमिताभ बच्चनलाई पहिलो फिल्मबाट सातौँ फिल्म सम्म आइपुग्दा दोस्रो सुपरस्टार घोषणा गरिसकेको थियो । सन् १९७० जनवरी १ मा भारतको ट्रेड म्यागजिनमा फिल्म पत्रकार तथा पी.आर.ओ. शब्दकुमारले राजेश खन्नालाई ‘सुपर स्टार इज बर्न’ भनेर लेखेका थिए तर यस शब्दको आविष्कार फिल्म-पत्रकार देवयानी चौबलले गरेकी थिइन्, राजेश खन्नाका निम्ति ।
सन् १९७१ मा ‘क्वेस्ट’ पत्रिकामा फिल्मकार एवम् कवि दिलीप चित्रेले सफलतालाई परिभाषित गर्दै लेखेका थिए, ‘यदि भारतमा कुनै यस्तो व्यक्ति होला जसको आकर्षण देशको प्रधानमन्त्री भन्दा ज्यादा छ भने त्यो हो, राजेश खन्ना ।’ चित्रेले ;द करिश्मा अफ राजेश खन्ना’मा खन्नाको सुपरस्टारडम, मास-हिस्टेरिया अनि बजार-तन्त्र र उनको मँहगो पारिश्रमिककावारे लेखिरहेको वेला भारतमा निर्देशक, लेखक वा अन्य चलचित्रकर्मीको तुलना नै हुँदैन थियो ।
‘राजेश खन्नाको युग’ को प्रशंसा जति भइरहेको थियो त्यतिवेला उनको विरोध पनि प्रशस्त भइरहेको थियो । एउटा संस्कृतको उपकथाको चर्चा गर्दै लेखक सलीम खानले लेखेका छन्, ‘जब गाउँबाट कुनै दूधको बयलगाडी जाँदै थियो एउटा कुकूर घामबाट बच्न त्यसको छायामा पछि पछि लाग्थ्यो तर धेरै दिनपछि कुकूरलाई यस्तो लाग्न थाल्यो त्यो बयलगाडी मेरै कारणले तानिँदैछ ।’ …एक पछि एक फिल्म हिट भएपछि हरेक अभिनेतालाई यस्तै लाग्न सक्छ, ‘सारा फिल्म मेरै कारणले चलेका हुन् ।’
राजेश खन्नाको यो युगलाई तोड्न सलीम खानले आफ्ना सहकर्मी जावेद अख्तरसित मिलेर सलीम-जावेद नामबाट फिल्म लेख्न शुरु गरिसकेका थिए । स्मरणीय कुरा, सलीम जावेद जोडी जन्माउन सुपरस्टार राजेश खन्नाकै हात थियो । राजेश खन्नासित दुई फिल्म आनन्द र नमकहराम खेले पछि यो सुपरस्टारडम् विस्तारै अमिताभ बच्चनतिर हस्तान्तरण हुँदै गयो ।
सलीम-जावेदले ‘जञ्जीर’ फिल्म मार्फत् अमिताभ बच्चनलाई सन् १९७३ मे ११ का दिन पर्दामा ल्याए । भनिन्छ, प्रकाश मेहरा निर्देशित यो फिल्ममा अमिताभ बच्चनले पारिश्रमिक स्वरुप ६० हजार रुपैयाँ लिएका थिए । लेखकद्वय सलीम-जावेदले पनि यस फिल्मको पटकथाका निम्ति ५५ हजार रुपैयाँ लिएका थिए । त्यतिवेला ५० हजार रुपैयाँ पनि ठूलो रकम मानिन्थ्यो । यस फिल्ममा एउटा संवाद् पनि यस्तो थियो, शेर खाँलाई इन्सपेक्टर विजय (अमिताभ बच्चन)लाई मार्न ५० हजार रुपैयाँ अफर गर्दा शेर (प्राण) ले भन्छन् , ‘एक इन्सपेक्टर की जान की किम्मत पचास हजार रुपैये । मालूम होता है बडा ही इमान्दार इन्सान है ।’ यो संवादबाट थाहा हुन्थ्यो, त्यो समय पचास हजार रुपैयाँ को कति मूल्य थियो ?
सलीम-जावेदले जञ्जीरका निम्ति लेखकका रुपमा ५५ हजार रुपैयाँ लिएरै छाडे । त्यति मात्रै होइन यी दुईले पोस्टरमा आफ्नो नाम पनि निर्देशक कै बराबर राख्न लगाए, यो हिन्दी फिल्म इतिहासमा पहिलो र नौलो घटना थियो । यसअगि हिन्दी फिल्म इतिहासमा यस्तो घटना घटेको थिएन । यसअगि हिन्दी फिल्ममा लेखकको अवस्था हरिजन बराबर मानिन्थ्यो । चलचित्रको शुटिंग पछि स्टुडिओबाट निर्देशक नायक नायिका कारमा चढेर सररर बाहिर जान्थे, लेखक पियन वा चौकिदार जस्तो गाडीको छेवमा बसेर उनलाई विदा गर्थे ।
भारतमा लेखकलाई कतिपय ठाउँमा लेखनदास पनि भनिन्थ्यो तर त्यस्तो अवस्थामा पनि लेखकका रुपमा आफूले मुन्शी जस्तो पद पाउने पहिलो लेखक त प्रेमचन्द थिए, त्यो पनि उनले साहित्यिक जगतमै त्यो पद पाएका थिए तर सिनेमामा त्यो अझै सम्भव वा साध्य थिएन । हिन्दी फिल्ममा लेखकका रुपमा पंडित मुखराम शर्मा, अबरार आल्वी, अमान, कमाल आमरोही, ख्वाजा अहमद अब्बास, गुलजार आदिले केही सम्मान पाउनुको कारण ती व्यक्तिहरु सिनेमाका प्राविधिक पक्षका ज्ञाता पनि थिए । बरु यस समय सिनेमामा गीत लेखेर साहिर लुधियानवीले गायक गायिका वा संगीतकारले भन्दा १ रुपैयाँ बढी लिएर आफ्नो भाउ बढाए पनि फिल्म लेखकले त्यो पहिचान पाएनन् । सलीम जावेदले यसमा खुल्ला वहस शुरु गरे, पाँच मिनटको गीत लेखेर जाने गीतकारको भन्दा कथा, पटकथा संवाद् लेखकको एउटा हिरोको जतिकै मूल्य छ यो फिल्मको लागि । यी दुई यही कुरामा अडिग रहे ।
सलीम जावेदले यसअगि ‘अन्दाज’,’हाथी मेरे साथी’, ‘सीता और गीता’ मा लेखन कार्य गर्दा नाम पनि इज्जतले पाएनन्, बरु तिनको नाउँ स्टोरी बोर्ड समूहमा देखा पर्यो । ‘जञ्जीर’को सफलाता पछि यिनले अन्दाजकै निर्देशक रमेश सिप्पीको अर्को फिल्म शोले (सन् १९७५) त्यस चलचित्रका नायक अमिताभ बच्चनले जतिकै पारिश्रमिक लिए । त्यसवाहेक फिल्मको प्रिरिलीजको निमित छापिएको पोस्टरमा फिल्मको नाम बराबर सलीम-जावेदको नाम छापेर बधाई दिइएको थियो, निर्माता जीपी सिप्पी र निर्देशक रमेश सिप्पीको तर्फबाट । सिप्पी बन्धुकै सन् १९७१ मा प्रदर्शित फिल्म ‘अन्दाज’मा यी दुई लेखकको नाउँ सिप्पी फिल्म्स् स्टोरी डिपार्टमेन्टमा अतिरिक्त लेखकका रुपमा प्रकाशित थियो ।
जञ्जीरपछि अमिताभ बच्चनको पारिश्रमिक बढ्दै गयो, त्यस सँगसँगै यी लेखकद्वयले अमिताभ बच्चन अभिनीत हरेक फिल्ममा अमिताभ बराबरनै पारिश्रमिक लिए, त्यसमध्ये १९७४ को ‘मजबूर’, सन् १९७५ को ‘दीवार’, सन् १९७५ को ‘शोले’, सन् १९७७ को ‘इमान धरम’, सन् १९७८ को ‘त्रिशुल’ , सन् १९७८ को ‘डन’, सन् १९७९ मा ‘कालापत्थर’, सन् १९८० मा ‘दोस्ताना’ प्रमुख मानिन्छ । सन् १९८२ मा सलीम जावेदले दिलीप कुमार र अमिताभ बच्चनका लागि शक्ति नामक फिल्म लेखे ।
सन् १९७० देखि सन् १९८० सलीम-जावेदको अपार युग थियो, सन् १९८० मा निर्माण नियन्त्रक यश जौहर (फिल्म निर्देशक करण जौहरका पिता) लेख जब दोस्ताना बनाउने निर्णय गरे त्यतिवेला सलीम जावेदले पटकथाका लागि १२ लाख पचास हजार रुपैयाँ मागे, जतिवेला अमिताभ बच्चनले बाहिरका फिल्ममा प्रति फिल्म १२ लाख रुपैयाँ लिन थालिसकेका थिए । देव आनन्दका फिल्म गाइड, ज्वैल थिफ, प्रेम पुजारीमा निर्माण नियन्त्रक रहीसकेका जौहरले लेखकद्धयलाई १२ लाख पचास हजार रुपैयाँ नै तिरे ।
यो घटनलाई लिएर लेखक सलीम खानले पुराना लेखक अबरार आलवीलाई भने, अबरार साहब हामीले त्यो गरेरै देखायौँ जुन बलिऊडमा हुन बाँकी थियो । एउटा चलचित्रमा लेखकको स्थान तोक्न र बनाउनमा सफल यो जोडी मिस्टर इन्डिया (सन् १९८७) मा गएर अन्त्य भयो त्यो पनि अमिताभ बच्चनले भूमिका अस्वीकार गर्नुको कारणले । मिस्टर इन्डियामा नायकको भूमिकालाई लिएर अमिताभ बच्चनको असहमतिलाई दुई लेखकले अलग अलग इन्टरप्रेट गरे पछि यो जोडी यहीँ गएर टुक्रियो । अमिताभ बच्चनलाई क्रुद्ध युवा नायकको छवि दिने यो जोडीले सन् १९५६ मा बेलायती लेखक जोन आस्बर्नद्धारा लिखित लूक ब्याक् इन एँगर बाट एँग्री योंगम्यान् सापटी लिएका हुन् यद्यपि हिन्दी फिल्ममा यो शब्दावली मुझे जीने दो मा सुनील दत्त अनि गंगा जमुना मा दिलीप कुमारले पनि पाइसकेका थिए तर महबूब खानको मदर इन्डिया मा सुनील दत्तले गरेको विरजूको भूमिकालाई त्यो वेला नै एंग्री योँग म्यान्को पदावली दिइएको थियो ।
नेपाली सिनेमामा राजेश हमालले गरेका धेरै भूमिकालाई एँग्री योँगम्यान्का ट्याग लागेको थियो । सिनेमामा नायकलाई चरित्र दिने मात्र नभइ चलचित्रमा लेखकको सम्मान र स्थान निक्र्यौल गर्नमा उच्चतम भूमिका निर्वाह गर्ने यी दुवै लेखक मध्ये जावेद अहिले कवि र शायरका रुपमा परिचित छन् भने सलीम खान फिल्म नायक सलमान खानका पिताका रुपमा चिनिन्छन् । जावेद प्रसिद्ध गीतकार जाँ निस्सार अख्तरका छोर थिए भने उनी चलचित्रमा लेखक नै बन्न आएका थिए तर पुलिस इन्सपेक्टरका छोरा सलीम खान भारतको इन्दौरबाट चलचित्रका नायक बन्न आएका थिए । आज दुवै लेखकका छोरा चलचित्रमा नायकका रुपमा समर्पित छन्, जावेद अख्तरका छोरा फरहान अख्तर चलचित्र लेखक निर्देशक अनि संगीतकार छन् भने उनकी छोरी जोया अख्तर पनि निर्देशक छिन् । सलीम खानका तीनै छोरा सलमान, अरवाज अनि सौहेल खान अभिनयमा सक्रिय छन् ।
सलीम जावेदल अस्सीको दशकमा हिन्दी सिनेमामा बनाएको आफ्नो गर्वशाली युग फेरि बलिऊडमा दोहोरिन सकेन । अहिले फेरि हिन्दी सिनेमामा लेखकको उपस्थिति शून्य बरारब भएको छ, वा मृत अवस्थामै छ । निर्देशकले अँग्रेजी वा कोरियन फिल्मको डिभीडीबाट हुबहु सिनेमा कपी गर्छन्, अनुवाद गर्नका निम्ति एउटा लेखनदासको खाँचो हुन्छ त्यो काम कुनै पनि समय उनका सहायक वा अरु कसैले पनि गरिदिने चलन छ । हाल नेपाली फिल्मको अवस्थामा पनि लेखकको हालत त्यही छ । नेपाली सिनेमामा शुरुवात देखि लेखकको अवस्था क्षतिपूर्तिको रुपमा लिइन्छ , कतिपय ठाउँमा लेखकको नाउँ सम्म पनि दिइँदैन ।
उदाहरणका लागि आफ्नो दुई दशकको फिल्मी क्यारिअरमा राजेश हमालले साथीको लागि यो हात सलाम हो, दुश्मनको लागि यो हात फलाम हो नाम हो मेरो पृथ्वी भनेर बोलिने सम्वाद् कुन लेखकको हो कसैलाई थाहा छैन वा राजेश हमालले मञ्चमा बोल्दा त्यो जरुरी पनि मानेनन् । पृथ्वी फिल्मको यो संवाद् संयोगले यही पंक्तिकारले लेखेका हुन् भन्ने धेरै पाठकलाई ज्ञान नहुन सक्छ । राजेश हमाल मात्र होइन, शिव श्रेष्ठ, भुवन केसी, अर्जुनजंग शाही, रवीन्द्र खड्का, विजय लामा, कृष्ण मल्ल, सौगात मल्ल, दयाहाँग राई, अनमोल केसी कसैले पनि बोल्ने संवाद् वा पटकथा कुनै लेखकले लेखेका होलान् तर तिनको चर्चा कहिले कतै भएको पाइँदैन ।
कुनै नायकले हिन्दी फिल्मकै संवाद हुबहु नेपालीमा अनुवाद गरेर अनमोल के.सी.कै स्वरमा मेरा दुश्मनहरुले सोचिरहेका होला म फर्केर आउने छैन भनेर । बोल्छन् भने लेखकको उपस्थिति के अर्थ रहला त ?
पहिलो नेपाली सिनेमाका लेखक दुर्गाप्रसाद श्रेष्ठ देखि लिएर सबैभन्दा बढी पारिश्रमिक पाउने सेतोबाघका लेखक डायमन शम्सेर राणा सम्म आइपुग्दा धेरै लेखकले नेपाली सिनेमामा लेखकका रुपमा योगदान दिइसकेका छन्, विजय मल्ल, चेतन कार्की, केशवराज पिंडाली, हिराकुमार सिंह, डा. ध्रुबचन्द्र गौतम, अविनाश श्रेष्ठ, ब्रजेश खनाल, मोहन निरौला, नयनराज पाण्डे आदि तर तिनको उपस्थितिमा पनि कुनै नायकले हिन्दी फिल्मकै संवाद हुबहु नेपालीमा अनुवाद गरेर अनमोल के.सी.कै स्वरमा मेरा दुश्मनहरुले सोचिरहेका होला म फर्केर आउने छैन भनेर । बोल्छन् भने लेखकको उपस्थिति के अर्थ रहला त ?
सलीम जावेदल आफ्नो फिल्म डन, जञ्जीरको रिमेक गर्दा पनि त्यसमा आफ्नो अहम् अस्तित्व खोजे । जब डन २ बनाइयो त्यतिवेला पनि उनीहरुले हामीसित दोस्रो डनको निम्ति स्वीकृति लिइएको थिएन भनेर मुद्दा हालेका छन्, त्यो मुद्दा अहिले मुम्बईको उच्च अदालतमा निर्णयाधीन नै छ । लेखक हुनुको अर्थ यो पो हो त । एउटा लेखकले सिनेमामा नायकको जति कै महत्व सृजना गर्ने सलीम खान र जावेद अख्तरको जोडी टुट्नु भारतीय सिने इतिहासमा व्यावसायिक युगको अन्त्य त हो नै तर सलीम खान स्वयम्ले भनेका छन्, मारियो पूजोले जस्तै एउटा गडफादर लेखेर मर्न पाउँ । उनको यो प्रार्थना जारी छ ।