१५ शैयाको ठाकुरबाबा नगरअस्पतालको निर्माण कार्य तिब्र
अस्पतालको निर्माण निर्धारित समयमा नै सम्पन्न हुन्छ : प्रशासकिय अधिकृत रिजाल
भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरअस्पतालको निर्माण कार्य तिब्र गतिमा अघि बढेको छ । १५ शैयाको सुविधा सम्पन्न ठाकुरबाबा नगर अस्पतालको निर्माण निर्धारित समयमा नै सम्पन्न हुने प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताउनु भयो । नगर अस्पताल निर्माणको कार्य पहिलो चरणमा पर्खाल र ढल निकासको काम सके लगत्तै भवनको जग हाल्ने काम सम्पन्न भएको र हाल भवन निर्माणको काम पनि सुरु भएको भईसकेको प्रमुख प्रशासकिय अधिकृत रिजालले जानकारी दिनुभयो ।
भ्याटसहित १२ करोड २४ लाख ३० हजार ७११ रुपैँयामा २०७८ जेष्ठ ११ गते चक्रेश्वरी सनलाइट जेभिले २०७९ साल फाल्गुणको दोस्रो साता सम्म निर्माण कार्य सम्पन्न गर्ने गरी नगर अस्पताल निर्माणको जिम्मा पाएको थियो । संघ, लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त लगानीमा २०७७ मंसिर १८ गते तत्कालीन स्वास्थ्य राज्यमन्त्री नबराज रावत, निर्वतमान नगरप्रमुख घननारायण श्रेष्ठ, उप–प्रमुख कृष्णा कुश्मा थारु सहितको उपस्थितीमा अस्पतालको सिलान्यास गरिएको हो ।
ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ नेउलापुर गाउँमा १५ शैयाको अस्पताल बनाउनका लागि नेपाल सरकारले बजेट प्रदान गरेको हो । नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ को निती तथा कार्यक्रममा नेउलापुर गाउँमा अस्पताल बनाउने कार्यक्रम तय गरेको र संघिय सरकारबाट समेत बजेट आएपछि अस्पताल बन्न लागेको हो । अस्पताल निमार्णका लागि आर्थिक वर्ष २०७७/७८ को बजेटमा ठाकुरबाबा नगरपालिकाले १ करोड रुपैँया विनियोजन गरेको थियो । विनियोजित रकमबाट अस्पतालको भौतिक पूर्वाधरको काम थालनी गरिने र आगामी वर्षहरुमा थप बजेट विनियोजन गर्दै अस्पताललाई पूर्णता दिइने निर्णय भए लगत्तै संघिय सरकारबाट बजेट आएको हो ।
नेउलापुर गाउँमा २ बिगाह क्षेत्रफलमा अस्पताल बन्न लागेको हो । नगर अस्पताल नहुँदा नगरबासीलाई राजमार्ग क्षेत्रमा हुने सवारी दुर्घटना, निकुञ्ज तथा मध्यवर्ती क्षेत्रबाट आएका जंगली जनावरको आक्रमण र आकस्मिक विरामी पर्दा बाँकेको कोहलपुर, नेपालगंज जानुपर्ने बाध्यता रहिआएको छ । आफ्नै क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण भएपछि बाहिर जानु पर्ने समस्या हट्ने भएको भन्दै स्थानीयमा खुशीयाली छाएको छ । अस्पताल बन्ने भएपछि स्वास्थ्य सेवामा जनताको सहज पहुँच बढ्ने स्थानियले अपेक्षा गरेका छन् ।