राजनीतिक दलमा आवद्ध शिक्षकलाई तत्काल राजीनामा दिन निर्देशन

बर्दिया : राजापुर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिनुभएको छ । यसअघि प्रदेश सांसद समेत रहनुभएका थारु नगरप्रमुखमा निर्वाचित भएपछि खरो रुपमा उत्रिनु भएको छ ।

नगरप्रमुख थारुले हिजो मंगलवार पदभार ग्रहण पश्चात् एक सूचना जारी गर्दै विभिन्न राजनैतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनैतिक दलको कार्यकारिणी पदमा रही विद्यालयको पठनपाठनमा प्रभावित हुने गरी कार्य गर्ने नगरपालिका अन्तरगत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई उल्लेखित पदबाट राजिनामा दिन निर्देशन दिनु भएको हो ।

नगरप्रमुखद्वारा जारी गरिएको सूचनामा शिक्षक तथा कर्मचारीहरुलाई उल्लेखित पदबाट राजिनामा दिन लगाई सात दिन भित्र नगरपालिका कार्यालयमा जानकारी दिन नगरपालिका अन्तरगतका सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई निर्देशन दिइएको छ । नेकपा माओबादी केन्द्रबाट उम्मेदवार हुनुभएका थारु नेपाली कांग्रेसका दीपकजंग शाहलाई ४० मतको अन्तरले पराजित गरी राजापुर नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।

Loading...