भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख तिलकराम लम्सालले पदभार ग्रहण गर्नुभएको छ । आज एक कार्यक्रमका बिच नगरप्रमुख लम्सालले पदभार ग्रहण गर्नुभएको हो । पदभार सम्हाल्दै नगरप्रमुख लम्सालले नगरपालिकाको कार्यालयले लिँदै आएको मालपोत कर समायोजन गर्ने घोषणा गर्नुभएको छ ।
मालपोत कर समायोजनसंगै नगरपालिका कार्यालय र अन्तरगतका वडा कार्यालयबाट सिफारिस वापत लिईने दस्तुरमा ५० प्रतिशत छुटदिने तथा नगरपालिकाको सबै वडामा रहेका जेष्ठ नागरिकले पाउने बृद्धभत्ता घरमा नै पुर्याउने घोषणा गर्नुभएको छ । तीन वटै निर्णयहरु आगामी आर्थिक वर्ष २०७९/८० देखि लागु हुनेगरि निर्णय गरिएको छ । आगामी आर्थिक वर्षदेखि घरदैलोमै भत्ता पाइने भएपछि जेष्ठ नागरिकहरु खुशी भएका छन् । यसअघि जेष्ठ नागरिकहरु बैंकमा घण्टौ लाइन लागेर भत्ता बुझ्न बाध्य थिए । कर समायोजन र सिफारिस दस्तुरमा छुट दिने निर्णयले नगरबासीलाई ठूलो सहयोग मिल्ने स्थानीयबासीले जनाएका छन् ।
नगरप्रमुखको हैसियतले राज्यबाट प्राप्त हुने तलब-भत्ता लगायतका सेवा सुविधा नलिने र उक्त रकम नगरका दुःखी, गरिब र असहायको शिक्षा र स्वास्थ्यमा खर्च गर्ने लगायतका प्रतिबद्धता जाहेर गर्दै चुनावी मैदानमा होमिनु भएका लम्साल वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनमा नेकपा माओबादी केन्द्रका उम्मेदवार नेत्रराज आचार्यलाई २ हजार २२४ मतान्तरले पराजित गर्दै ठाकुरबाबा नगरपालिकाको नगर प्रमुखमा निर्वाचित हुनुभएको हो ।
तस्वीरहरु : ठाकुरबाबा नगरपालिकाको कार्यालय, सैनवार र मेयर तिलकराम लम्सालको सचिवालय फेसबुकबाट