onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा १९ घण्टामा २८०३ मतगणना, नगरप्रमुखमा माओबादी केन्द्रको अग्रता

२८०३ मत गणना गर्दा ४० मत पूर्णरुपमा बदर

Sambad ADD long

भुरिगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकामा नगरप्रमुख, उपप्रमुख सहित ४७ वटा पदका लागि हिजो सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना कार्य जारी छ । मत परिणाम सुस्त आउँदा मत गणनास्थल बाहिर मत परिणाम सुन्न भेला भएका उम्मेदवारका सुभचिन्तकहरु निराश भएका छन् ।

ठाकुरबाबा नगरपालिकामा २८०३ मत गन्दा नेकपा माओबादी केन्द्रले अग्रता कायम राखेको छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार वडा नम्बर १, ५ र ९ को मत गन्दा नेकपा माओबादी केन्द्रका तर्फबाट नगरप्रमुखका उम्मेदवार नेत्रराज आचार्यले १०८०, नेपाली काँग्रेसका तिलकराम लम्सालल ८१७ र नेकपा एमालेका घननारायण श्रेष्ठले ६७५ मत प्राप्त गर्नुभएको छ । नेकपा एकिकृत समाजबादीका दुर्गा प्रसाद जैसीले २३ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुमारी पार्वती लम्सालले १४ मत प्राप्त गर्नुभएको छ । यस अघि ठाकुरबाबा नगरपालिकाको नगरप्रमुख नेकपा एमालेले जितेको थियो ।

उप-प्रमुख तर्फ नेकपा माओबादी केन्द्रकी आशा कुमारी थारु ९८० मतका साथ पहिलो स्थानमा हुनुहुन्छ भने, नेकपा एमालेकी बिना कुमारी भट्राई ९५८ मतका साथ दोस्रो तथा नेपाली काँग्रेसकी मन्जु कुमारी चौधरी ५७४ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ । नेकपा एकिकृत समाजबादीकी कुमारी मधु शर्माले ३२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ताराबहादुर चम्लागाईले २७ मत प्राप्त गर्नुभएको छ । यस अघि ठाकुरबाबा नगरपालिकाको नगरउप-प्रमुख नेकपा माओबादी केन्द्रले जितेको थियो ।

वडा नम्बर १ को ९०३ मतको गणना गर्दा अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार निमराज खनालले ३४४ मतका साथ अग्रता कायम गर्दा नेकपा एमालेको विष्णु प्रसाद खनालले २६० मतका साथ खनाललाई पछ्याई रहनु भएको छ भने नेपाली काँग्रेसका बेद प्रसाद भण्डारीले २२७ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर १ मा अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार श्यामलाल थारु निर्वाचित हुनुभएको थियो ।

वडा नम्बर ५ को ८९३ मतको गणना गर्दा अध्यक्षमा नेकपा माओबादी केन्द्रका उम्मेदवार शम्भु प्रसाद थारुले ४१४ मतका साथ अग्रता कायम गर्दा नेकपा एमालेको भिख्खुराम थारु (चौधरी)ले २४४ मतका साथ शम्भु प्रसाद थारुलाई पछ्याई रहनु भएको छ भने नेपाली काँग्रेसका डबल सिंह साउदले १६१ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर ५ मा अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गंगाराम जैशी निर्वाचित हुनुभएको थियो ।

वडा नम्बर ९ को १००७ मतको गणना गर्दा अध्यक्षमा नेकपा माओबादी केन्द्रकी उम्मेदवार राधा चौधरीले ३६३ मतका साथ अग्रता कायम गर्दा नेपाली काँग्रेसका जय बहादुर बलमे ३११ मतका साथ चौधरीलाई पछ्याई रहनु भएको छ भने नेकपा एमालेका प्रमिल नेपाल खनालले २१२ मत प्राप्त गर्नु भएको छ । वडा नम्बर ९ मा अघिल्लो स्थानियतह निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार राधा चौधरी निर्वाचित हुनुभएको थियो ।

३३ हजार ५५७ मतदाता रहेको ठाकुरबाबा नगरपालिकामा २४ हजार ३२९ मत खसेको र हाल सम्म २८०३ मत गणना गर्दा ४० मत पूर्णरुपमा बदर भएको ठाकुरबाबा नगरपालिका निर्वाचन अधिकृतको कार्यालय, सैनवारले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.