
बर्दिया : राजनितिक दलका भातृ संस्था युवा संगठन तथा महिला संघ, संगठनहरुले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण बनाउन प्रतिवद्धता व्यक्त गरेका छन् । बर्दियाका राजनितिक दलका विभिन्न संघसंस्था तथा संगठनमा आबद्ध युवा तथा महिलाहरुले वैशाख ३० गते हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आचारसंहिताको कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका हुन् ।
संवाद समूह बर्दियाले गुलरियामा आयोजना गरेको स्थानीयतह निर्वाचन २०७९ निर्वाचन आचारसंहिता कार्यान्वयनका सन्दर्भमा युवा तथा महिला नेतृहरुसंग गरिएको अन्तरक्रियात्मक संवाद कार्यक्रममा आफु र आफ्ना सहकर्मीहरुलाई पनि पालना गर्न आग्रह गर्नेमा सामुहिक प्रतिवद्धता जनाएका हुन् ।
कार्यक्रममा निर्वाचन स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्सनीय बनाउन आचारसंहिता कार्यान्वयन गर्नु पर्ने कुरामा सम्पुर्ण युवा तथा महिलाहरु एकमत भएको र आचारसंहितालाई पालना गर्नु नै चुनावलाई द्वन्द्वरहित बनाउनु आफुहरुको दायित्व जनाउँदै ऐकेवद्धता जनाएका संबाद समुह सदस्य लक्ष्मी नेपालले जानकारी दिनुभयो ।
कसैले पनि आचारसंहिता उल्लंघन गरेको कही कतै पाइएमा उजुरी गर्न आह्वान गर्दैे प्रमाणका आधारमा कानूनी कारवाही गरिने समेत निर्वाचन आयोगको कार्यलय बर्दियाले जनाएको छ । स्थानीय तह निर्वाचनलाई मर्यादीत, भयरहित र शान्तिपूर्ण बनाउन संवाद समूह बर्दियाले सरोकारवालाहरुसँग विभिन्न चरणमा आवश्यक संवाद गर्दै आएको छ ।