बर्दिया : वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचन लक्षित गरी बर्दियामा संचारकर्मी संग गरिएको पत्रकार आचारसंहिता विषयक संवादमा निर्वाचन आचारसंहिता पालना गर्न संचारकर्मीहरुको प्रतिवद्धता जनाएका छन् ।
संवाद समूह बर्दियाको आयोजनामा भएको संचारकर्मीहरुका लागि निर्वाचन आचारसंहिता पालना विषयको संवाद कार्यक्रममा सहभागि संचारकर्मीहरुले आचारसंहिता पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका हुन् । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिकारी कृष्ण कुँवरले पत्रकार आचारसंहिताका बारेमा जानकारी गराउनु भएको थियो । आचारसंहिता कार्यान्वयन आफुबाट सुरुवात गरि आफ्नो क्षेत्रमा कार्यान्वयन गराउन प्रतिवद्ध हुुनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ, बर्दिया जिल्ला अध्यक्ष यादव आचार्यले निर्वाचन आचारसहिंता पालना गर्न बर्दियाका संचारकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले निष्पक्ष र धाँधली रहित रुपमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने दायित्व संचारकर्मीहरुको पनि सबैको भएको बताउँदै निर्वाचन सम्पन्न गर्नका लागि सहयोग गर्न सम्पूर्ण संचारकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।
यसैबिच कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया जिल्लाका निवर्तमान अध्यक्ष राजेन्द्रप्रसाद धितालले पत्रकारहरुले निर्वाचन आचारसंहिता आफुले पनि पालना गर्ने र कसैले उल्लङ्घन गरेको देखेमा नेपाल पत्रकार महासंघ बर्दियाको समितीमा वा निर्वाचन कार्यालयसम्म पुर्याउन अनुरोध गर्नुभयो । बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेले शान्ति, सुरक्षा व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखीएको भन्दै उहाँले पत्रकार लगायतका सम्पुर्ण व्यक्तिहरुले गर्नुपर्ने आचारसहिंता पालनाको विषयलाई सबै संग समन्वय तथा सहकार्य गर्न आवश्यक रहेको बताउनुभयो । पाण्डेले संचारकर्मीलाई निर्वाचन आचारसंहिता पालना गर्दै राजनीतिक दलहरुलाई सचेत गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउँदै उम्मेद्वार तथा राजनीतिक दलले आचारसंहिताको उल्घंन गरेको पाएमा निर्वाचन अधिकृतको कार्यालय तथा मुख्य निर्वाचन अधिकृतको कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न समेत आग्रह गर्नुभयो । कार्यक्रमको संचालन संवाद समूह बर्दियाका सहजकर्ता भावुक योगीले गर्नु भएको थियो ।