onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा प्रमुख पदका लागि ८ जनाको उम्मेदवारी

तीन ठूला दलहरु बिच नै मुख्य प्रतिस्पर्धा हुने अवस्था

Sambad ADD long

बर्दिया : वैशाख ३० गते हुने स्थानियतहको निर्वाचनका लागि ठाकुरबाबा नगरपालिकामा उम्मेदवारी मनोनयन दर्ता कार्य सम्पन्न भएको छ । नगरप्रमुख, नगरउप–प्रमुख, वडाअध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुल्ला वडा सदस्य पदमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता भएको ठाकुरबाबा नगरपालिकाका निर्वाचन अधिकृत प्रेम प्रसाद देबकोटाले जानकारी दिनुभयो ।

नगरप्रमुख पदमा राजनीतिकदलबाट ७ र स्वतन्त्र १ गरी ८ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रमुख पदका लागि नेकपा (एमाले)बाट घननारायण श्रेष्ठ, नेपाली कांग्रेसबाट तिलकराम लम्साल, नेकपा माओबादी केन्द्रबाट नेत्रराज आचार्य, नेपाल मजदुर किसान पार्टीबाट पवित्रा शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पार्वती लम्साल, साझा पार्टी नेपालबाट उमेश कुमार थापा, नेकपा एसबाट दुर्गा प्रसाद जैशी र स्वतन्त्रबाट धर्मराज रिजालको उम्मेदवारी दर्ता भएको छ ।

नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएका श्रेष्ठ र नेकपा माओबादी केन्द्रबाट उम्मेदवार बन्नु भएका आचार्य २०७४ सालमा सम्पन्न भएको स्थानियतहको निर्वाचनमा पनि नगरप्रमुख पदका लागि चुनावी मैदानमा हुनुहुन्थ्यो, श्रेष्ठले आचार्यलाई ११९ मतको अन्तरले पराजित गर्नुभएको थियो । यस पटकको निर्वाचनमा उम्मेदवार बन्नका लागि श्रेष्ठले हिजो नगरप्रमुख पदबाट राजिनामा दिनुभएको थियो । यस पटक पुनः दुबै राजनीतिकदलले पुरानै उम्मेदवारलाई चुनावी मैदानमा उतारेका छन् । २०७४ सालको निर्वाचनको मतपरिणामलाई हेर्नेहो भने ठाकुरबाबा नगरपालिकाको प्रमुख पदमा तीन ठूला दलहरु नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

यस्तै नगरउप–प्रमुख पदमा ६ जनाको उम्मेदवारी परेको छ, उम्मेदवारी दर्ता भएकाहरुमा नेकपा (एमाले)बाट बिना भट्टराई, नेपाली कांग्रेसबाट मञ्जु कुमारी चौधरी, नेकपा माओबादी केन्द्रबाट आशा कुमारी थारु, नेपाल मजदुर किसान पार्टीबाट राम कुमारी थारु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट तारा प्रसाद चम्लागाईं र नेकपा एसबाट कुमारी मधु खनाल रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नु भएकी बिना भट्टराई अघिल्लो स्थानियतहको निर्वाचनमा ११७ मतान्तरले नेकपा माओबादी केन्द्रकी उम्मेदवार कृष्णा कुश्मा थारु संग पराजित हुनु भएको थियो । उम्मेदवारहरुको नामावली सिफारिस हुँदै गर्दा नेकपा माओवादी केन्द्रबाट विजयी उप–प्रमुख कृष्णा कुश्मा थारु पार्टीले प्रमुख वा उप–प्रमुख जुन पदमा उम्मेदवार बनाउन चाहे पनि आफु तयार भएको बताए पनि पार्टीले प्रमुखमा नेत्रराज आचार्यलाई सिफारिस गरे संगै चुनावी मैदानबाट वाहिरिनु भएको हो ।

नगरप्रमुख र उप–प्रमुख संगै ठाकुरबाबा नगरपालिकाको ९ वटै वडाहरुमा विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट वडाअध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुल्ला वडा सदस्य पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृत देबकोटाले बताउनु भयो । आज उम्मेदवारी दर्ता कार्य सकिए संगै भोलि वैशाख १३ गते उम्मेदवारहरुको विरोधमा उजुरी दिने, १४ गते मनोनयन पत्र जाँच गर्ने र उम्मेदवारहरुको विरोधमा परेको उजुरीको जाँचबुझ गरी निर्णय गर्ने, १५ गते उम्मेदवारहरुको नामावली प्रकाशन गर्ने तथा १६ गते उम्मेदवारी फिर्ता लिन चाहनेलाई उम्मेदवारी फिर्ताको समय दिईएको छ । वैशाख १६ गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी १७ गते उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ । वैशाख ३० गते स्थानियतहको निर्वाचन सम्पन्न हुनेछ ।

[नगरप्रमुख पदमा साझा पार्टी नेपालबाट उमेश कुमार थापा हुनुपर्नेमा विवेकशिल साझा भएकोमा सच्याईएको छ । – सम्पादक]

Leave A Reply

Your email address will not be published.