बर्दिया : नेकपा एमालेले बर्दियाका सबै स्थानीय तहमा उमेदवारको टुंगो लगाएको छ । यसअघि जितेकामध्ये २ वटा पालिकाको प्रमुखमा दोहोराएर उमेदवार बनाइएको छ । बैशाख ११ गतेसम्म सबै नगरपालिकाका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको उम्मेदवार टुंगो लागेको छ । नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष लाल बहादुर श्रेष्ठका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमोजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको छ ।
६ नगरपालिका र २ गाउँपालिका गरी ८ स्थानीय रहेको बर्दियामा २०७४ सालमा सम्पन्न स्तानियतहको निर्वाचनमा नेकपा एमालेले ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिकाको प्रमुख र बढैयाताल गाउँपालिकाको अध्यक्ष तथा बाँसगढी नगरपालिकाको उप–प्रमुख र बढैयाताल गाउँपालिकाको उपाध्यक्ष जितेको थियो । प्रमुख पद जितेको ठाकुरबाबा नगरपालिकामा भने ११७ मतको अन्तरले उप–प्रमुख हारेको थियो । दोहोरिएका उमेदवारमा ठाकुरबाबा नगरपालिकाको प्रमुखमा घन नारायण श्रेष्ठ र बढैयाताल गाउँपालिकाको अध्यक्षमा लाल बहादुर श्रेष्ठ रहेको नेकपा एमाले बर्दिया जिल्ला कमिटिले जनाएको छ ।
गुलरिया नगरपालिकाको प्रमुखमा अमरबहादुर खड्का तथा उप–प्रमुखमा टिका शम्सेली, ठाकुरबाबा नगरपालिकाको प्रमुखमा घन नारायण श्रेष्ठ तथा उप–प्रमुखमा बिना भट्टराई, मधुवन नगरपालिकाको प्रमुखमा धर्म थापा तथा उप–प्रमुखमा सम्झना बिश्वकर्मा, बाँसगढी नगरपालिकाको प्रमुखमा खड्गबहादुर खड्का तथा उप–प्रमुखमा ईन्द्रा थारु, राजापुर नगरपालिकाको प्रमुखमा पहाडी थारु तथा उप–प्रमुखमा सावित्री शर्मा र बारबर्दिया नगरपालिकाको प्रमुखमा पदम ढकाल तथा उप–प्रमुखमा नारायणी थारुलाई उम्मेदवार चयन गरिएको छ ।
बढैयाताल गाउँपालिकाको अध्यक्षमा लालबहादुर श्रेष्ठ तथा उपाध्यक्षमा लक्ष्मी अधिकारी र गेरुवा गाउँपालिकाको अध्यक्षमा भरत धामी तथा उपाध्यक्षमा मन्जु शर्मालाई उम्मेदवार चयन गरिएको नेकपा एमाले बर्दिया जिल्ला अध्यक्ष श्रेष्ठले बताउनु भयो ।