भक्तपुर : पार्टीले टिकट दिए पुनः स्थानीय निर्वाचनमा उम्मेदवार बन्न मध्यपुर थिमि नगरपालिकाका प्रमुखसहित ९ जना जनप्रतिनिधिले आज (शुक्रवार) पदबाट राजीनामा दिएका छन् । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार बन्न चाहने बहालवाला जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने व्यवस्था गरेकाले प्रमुख श्रेष्ठसहित शुक्रवार ९ जनाले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेहरूमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष अमृतमान श्रेष्ठ र वडा नं. ७ का वडाध्यक्ष कृष्णकुमार प्रजापति र वडा सदस्यहरू रामकेशरी श्रेष्ठ, मन्दिरा थापा नेपालीलगायतका छन् । प्रमुख श्रेष्ठले उपप्रमुख अञ्जनादेवी मधिकर्मीलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् । त्यसअघि प्रमुख श्रेष्ठले वडाध्यक्ष र सदस्यहरूको राजीनामा बुझ्दै सबैलाई धन्यवादसहित बिदाइ गरेका थिए । प्रमुख श्रेष्ठले राजीनामा सँगै नगरपालिकाले प्रदान गरेको मोबाइल सेट र ल्यापटप लगायतका सामग्री समेत प्रमुख प्रशासकीय अधिकृत चूरामणि पन्थीलाई हस्तान्तरण गर्नु भएको छ ।
प्रमुख श्रेष्ठले राजीनामापछि सामाजिक सञ्जालमार्फत पाँचवर्षे सेवा अवधिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्। साथै नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको शुभकामना व्यक्त गर्दै फेरि नयाँ तर सबल शुरुवातको अपेक्षा व्यक्त गरेको छ। यसैगरी जिल्ला समन्वय समिति भक्तपुरका सदस्य उमेश श्रेष्ठले पनि पदबाट राजीनामा दिनु भएको छ । उहाँले राजीनामा दिएको विषय सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको हो ।