
काठमाण्डौ : वैशाख ३० गते हुने स्थानीय चुनावमा मेयर लड्न एकजना उपसचिवले राजीनामा दिने तयारी गर्नुभएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत उपसचिव बिष्णुप्रसाद भुसालले नवलपुरको देवचुली नगरपालिकाको मेयर लड्न पदबाट राजीनामा दिन लाग्नु भएको हो ।
‘म आजै सचिवज्यूलाई राजीनामा बुझाउँदैछु,’ भुसालले भन्नुभयो ,‘लामो समय स्थानीय तहमा काम गरेकाले केही गर्न सक्छु कि भनेर मेयर लड्न जान लागेको हुँ।’ देवचुली नगरपालिकाका स्थानीय उहाँले केही समयअघि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर काम गर्नुभएको थियो । निजामती सेवामा २२ वर्ष बिताउनु भएका भुसालले विकास प्रशासनमा स्नातकोत्तर गर्नुभएको छ ।
भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने बताउनु भएको छ । यो नगरपालिका कांग्रेस पूर्वमहामन्त्री शशांक कोइरालाको क्षेत्र पर्छ। ‘कांग्रेसबाट टिकट पाउने भन्ने कुरा छ। म त्यसैको प्रक्रियामा छु,’ उहाँले भन्नुभयो । यसअघि २२ पटक परीक्षा दिएर नेपाल विद्युत प्राधिकरणको अधिकृतमा नाम निकाल्नु भएका कञ्चनराज गिरीले मेयर लड्न राजीनामा दिनु भएको थियो । गिरी काभ्रेको बनेपामा मेयरका लागि स्वतन्त्र उम्मेदवार बन्दै हुनुहुन्छ ।