
म वतावरणविद अथवा यस विषयको सोधकर्ता त होईन तर गत वर्ष चाईनाको सिचुवान र गुईझाउ प्रान्तको भ्रमण गर्ने अवसरमा कतिपय पहाडहरुबाट उत्खनन गरि सडक, भवन, पुल पुलेसा जस्ता पुर्वाधारका लागि आवश्यक पने ढुङ्गा, गिट्टी , बालुवा, माटो जस्ता प्राकृतिक श्रोतको व्यवस्थापन गरिएको र सो ठाउलाई समथर बनाई बस्ती विकास तथा अन्य काममा उपयोग गरिएको पाईयो ।
नेपालमा जथाभावी खोलानालाबाट उत्खनन् गर्दा भुक्षय, पहिरो, बाढी जस्ता प्रकोपका कारण ठूलो धनजनको क्षति हुने गरेको बर्षौ देखि देखिदै अनि सुनिदै आईरहेको सन्दर्भमा हामी कहाँ पनि यसरी नै वातावरणिय परीक्षण गरि निश्चित पहाडबाट उत्खनन गरि पुर्वाधार निर्माणका लागि आवश्यक श्रोत व्यवस्थापन गर्न सकिएको भए सायद प्राकृतिक बिपत्ति लाई अलि कम गर्न सकिन्थ्यो कि भन्ने लागेको थियो । नेपाल सरकारले यस बर्षको बजेट बक्तब्यमा सोही बमोजिमको कुरा समेटेर ल्याएको पाए ।
प्राकृतिक श्रोतको सहि ढंगले उपयोग र व्यवस्थापन गर्न सकिएन वा सरक्षण र विकासलाई एकिकृत ढङ्गले बुझ्न सकिएन भने के हुन्छ भन्ने कुराको अध्ययन गर्न टाढा गैइ रहनु पर्दैन कर्णाली चिसापनिको लालमाटीमा गएर अध्ययन गरे पुग्छ । केही बर्ष अघि सम्म कर्णालिको पुर्बी भङ्गालो गेरुवाबाट करिब तीन चौथाई पानी बग्थ्यो भने पश्चिमी भङ्गालोबाट करिब एक चौथाई मात्र पानी बग्थ्यो ।
कैलाली जिल्ला तर्फ पुर्वाधारका लागि आवश्यक ढुङ्गा, गिट्टि, बालुवा बढी उत्खनन् गरिनु र पुर्बी भागमा निकुञ्जका कारण नदिजन्य पदार्थ हटाउन र व्यवस्थापन गर्न नसकिदा नदिजन्य पदार्थ थुप्रदै जानुका कारण कर्णाली नदि पश्चिम तर्फ भासिदै गएकाले बर्दियाको पश्चिमी भाग सुख्खाग्रस्त क्षेत्रमा परिणत हुने सम्भावना बढेको छ । ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ९ र मधुवन नगरपालिकाको वडा नम्बर १ मा परम्परागत रुपमा कर्णाली नदिबाट सिचाई हुँदै आइरहेकोमा हाल सिचाई कै लागि पानी अभाब भएकोछ । खौराहा खोला सुख्खा भएको छ । निकुञ्जका जनावरलाई समेत पानी अभाब हुने देखिएको छ । नेपाल कै सबै भन्दा लामो कोठियाघाटको पुल मुनि नदि नभएर जङ्गल बन्दैछ भने उता कैलालीको पुर्बी भाग कटान र डुवानग्रस्त क्षेत्रमा परिणत भएको छ । सत्ती घाटमा निर्माण भएको पक्किपुलले पानी थेग्न नसकेर केही स्पान थप्नु पर्ने भएको छ । जसका कारण कर्णाली नदि व्यवस्थापन चुनौतिको रुपमा खडा भएको छ ।
संरक्षण र विकासलाई एकीकृत ढङ्गले बुझ्नु र सोही बमोजिमको नीति तथा कार्यक्रम तय गर्नु राम्रो हुन्छ भन्ने यो एउटा उदाहरण मात्र हो । धेरै देशहरूले प्राकृतिक श्रोत र साधनको उचित प्र्योग गरेर नै विकास गरिरहेका छन् । हामीले संरक्षण मात्रै गर्ने र सदुपयोग गर्न नजान्दा, करौडो टन काठ मलेसिया लगायतका देशबाट आयात गर्नु पर्ने अवस्था छ, भोली हाम्रै नदीले बगाएर लगेका ढुंगा ,गिटी बालुवा पनि आयात गर्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले दिगो संरक्षणका साथै प्राकृतिक श्रोतको उचित प्रयोगमा ध्यान दिन जरुरी छ ।
हामिले दैनिक प्रयोग गर्ने फलाम, पेट्रोलियम पनि बिश्वका अन्य देशहरु बाट उत्खनन् भएरै आउने हुन । सधैभरी युवाका पाखुरीका श्रम खाडिमा निर्यात गरेर देश विकास गर्ने हाम्रो सोचमा अलि परिवर्तन गरि अब वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा चुरेक्षेत्रको भूबनावट र जलाधार समेतको संरक्षण गर्दै नेपाल सरकारले ल्याएको यो कार्यक्रमका सकारात्मक पक्षहरुलाई कार्यान्वयन मा जोड दिने र हुनसक्ने कमजोरीहरु लाई पहिचान गरि नियन्त्रण गर्न सकियो भने राष्ट्रिय आम्दानीमा वृद्धि, सरक्षण र विकास सङ्ग सङ्गै गर्न सकिन्थ्यो कि ?