बर्दिया : २०७२ साल वैशाखमा गएको विनाशकारी भूकम्पसंगै पुनःनिर्माणका कार्य तीव्र रुपमा सञ्चालन भए । देशमा केही गर्न सकिँदैन भनेर विदेश जानका लागि तयारी भएकादेखि विदेशबाट छुट्टीमा स्वदेश फर्किएकाहरु धेरै अहिले स्वदेशमै बसेर पनि राम्रो कमाइ गरिरहेका छन् । धेरैले पुनःनिर्माणका क्रममा रोजगारीको अवसर समेत प्राप्त गरेका छन् ।
विनाशकारी भूकम्पपछिको पुनःनिर्माण होस वा राष्ट्रिय गौरवका आयोजना निर्माणको काममा युवाहरुको आकर्षण बढ्दै गएको छ । धेरै युवाहरु जलविद्युत्, सडक निर्माण, सिँचाइ लगायतका आयोजनाहरुमा काम गरिरहेका छन् । ती आयोजनामा काम गर्नेहरु पनि आफूले गर्नुपर्ने काम र कमाइमा सन्तुष्ट हुन थालेका छन् ।
१६ हजारदेखि ५० हजारसम्म आम्दानी
राष्ट्रिय गौरवको रुपमा हेरिएको भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा ५ सय नेपाली युवा काम गरिरहेका छन् । आयोजनाका अनुसार बर्दिया, बाँके, सुर्खेत, जाजरकोट, अछाम लगायतका जिल्लाका युवा आयोजनामा काम गरिरहेका छन् । नेपाली कामदारहरुले मासिक १६ हजारदेखि ५० हजार रुपैयाँसम्म कमाउँदै आएका छन् ।
उनीहरूले आयोजनाको सुरुङ पाइपका उद्योग र सुरुङ निर्माण लगायतमा काम गरिरहेका हुन् । आयोजनामा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म आयोजनाको काम सञ्चालन हुने गरेको छ ।
आयोजनामा ५ सय नेपालीहरुले काम गरिरहेको आयोजना निर्माणको ठेक्का पाएको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक)का प्रशासकीय प्रमुख ली छाङयोङले बताउनु भयो । आयोजनाका अनुसार कामदारहरुका लागि खान, बस्नको निःशुल्क व्यवस्था गरिएको छ ।
विदेश गएर दुःख पाउनुभन्दा राष्ट्रिय आयोजनाहरुमा काम गर्दा फाइदा भएको आयोजनामा काम गरिरहेका कामदारहरुको भनाइ छ । मासिक १६ हजारदेखि ५० हजारसम्म तलब र ओभर टाइम गर्दा विदेशभन्दा नेपालमै बढी कमाइ हुने गरेको कामदारहरुको अनुभव छ ।
भेरी-बबई आयोजनाबाहेक जिल्लामै सञ्चालित तथा जिल्लाबाहिर सञ्चालित सिँचाइ आयोजना, सडक निर्माण लगायतका निर्माणसम्बन्धी काममा सयौँ युवाले आफ्नो सिप र क्षमतालाई प्रयोग गरिरहेका छन् । विदेशमा गएर ७०/८० हजार कमाउनुभन्दा आफ्नै देशमा बसेर ४०/५० हजार कमाउनुमै आफू सन्तुष्ट रहेको दैलेखमा सञ्चालित मध्यपहाडी राजमार्ग निर्माणमा साइट इन्चार्जका रुपमा काम गरिरहेका बर्दिया ठाकुरबाबा नगरपालिका-४, का देवेन्द्र जोशीले बताउनुभयो ।
जिल्लाका अधिकांश युवा बर्दियासँगै पश्चिम नेपालको बाँके, सुर्खेत, दैलेख, बुटवल, नारायणगढ र पूर्वी नेपालको गोरखा, नुवाकोट, सिन्धुली, रामेछाप लगायतका ठाउँहरुमा सञ्चालित निर्माण कार्यमा संलग्न छन् ।