बर्दिया : २१ मंसिरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा निर्वाचनमा बर्दियामा बाम र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका चारै जना उम्मेदवार मन्त्री र पूर्वमन्त्री भएका कारण प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
प्रतिनिधिसभाका लागि बर्दिया क्षेत्र नम्बर १ मा बाम गठबन्धनबाट नेकपा एमालेका बामदेव गौतम र नेपाली कांग्रेसबाट सञ्जय कुमार गौतम उम्मेदवार हुनुहुन्छ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पूर्वउपप्रधान तथा गृहमन्त्री समेत हुन् । नेपाली कांग्रेसका नेता सञ्जय कुमार गौतम नेपाली काँग्रेसको बर्दिया जिल्ला सभापति तथा हालका सिञ्चाइ मन्त्री हुन् । बामदेव गौतमले संविधानसभा निर्वाचनमा यही ठाउँबाट जिते पनि दुईमध्ये एक स्थान छोड्नुपर्ने भएपछि बर्दिया छोड्नु भएको थियो । क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि रामसुरत अहिर र नवराज घिमिरेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, प्रतिनिधिसभाका लागि बर्दिया क्षेत्र नम्बर २ बाट पनि दुवैजना मन्त्रीले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ मा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सन्त कुमार थारु र कांग्रेसका तर्फबाट गोपाल दहितले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा माओवादी केन्द्रका सन्त कुमार थारु पहिलो संविधानसभा र दोस्रो संविधानसभा निर्वाचनमा विजयी हुनु भएको थियो । उहाँ अहिलेको सरकारमा पशुपंक्षी विकास मन्त्री भए पनि हाल बिना विभागीय मन्त्रीको हैसियतमा हुनुहुन्छ ।
नेपाली कांग्रेसका गोपाल दहित यसअघि संविधानसभा निर्वाचनमा फोरम लोकतान्त्रिकका तर्फबाट समानुपातिक सांसद हुनु भएको थियो । कांग्रेस संगको एकतापछि उहाँ अहिले काँग्रेसबाट उम्मेदवार बन्नु भएको हो । दहित नेपाल सरकारको भूमिसुधार मन्त्री समेत हुनुहुन्छ । बाम गठबन्धनका उम्मेदवार थारु र कांग्रेसका उम्मेदवार दहित दुबै थारु समुदायका हुन् ।
बर्दियामा प्रतिनिधिसभाको निर्वाचन वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनसंगै उम्मेदवार नेताहरुका लागि पनि अस्तित्व रक्षाको चुनौती बन्ने देखिएको छ । उम्मेदवारी दर्ता गरेसंगै सबै उम्मेदवारहरुले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । निर्वाचन प्रमुख किरण कुमार पोखरेलका अनुसार बर्दियामा बाम गठबन्धन र कांग्रेससहित नेकपा माले, नेपाल मजदुर किसान पार्टी, राप्रपा राष्ट्रवादी लगायत ८ देखि १२ दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
प्रदेश सभामा को को ?
प्रदेशसभाका लागि क्षेत्र नम्बर १ को (क) मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका कबिराम थारु तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सोदे बिष्ट र (ख) मा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका तिलकराम शर्मा तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मंगलप्रसाद थारुले उम्मेदवारी दर्ता गराउनु भएको छ । क्षेत्र नम्बर १ को (क) मा स्वतन्त्र बाहेक १० दल र (ख) मा स्वतन्त्र बाहेक ८ दलले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेशसभाका लागि क्षेत्र नम्बर २ को (क)) मा बाम गठबन्धनका तर्फबाट नेकपा एमालेका कुलप्रसाद पोख्रेल तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसका रामचन्द्र थापा र (ख) मा बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दिपेश थारु तथा लोकतान्त्रिकका तर्फबाट नेपाली कांग्रेसका नाचुराम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि, ४ वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा अहिले प्रतिनिधिसभातर्फ २ र प्रदेशसभातर्फ ४ निर्वाचन क्षेत्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालय बर्दियाका अनुसार स्थानिय तह निर्वाचनपछि १९ हजार २८९ मतदाता बढेर अहिले बर्दियामा २ लाख ७२ हजार ४ ७७ मतदाता रहेका छन् ।