onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि बर्दियामा १९ हजार मतदाता बढे

Sambad ADD long

बर्दिया : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मंसिरमा हुने निर्वाचनका लागि बर्दियामा १९ हजार २८९ जना मतदाता बढेका छन् । भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेकाहरूले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएसंगै बर्दियामा मतदाता संख्या बढेको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवन कुमार शाहीले बताउनुभयो ।

स्थानीय तह निर्वाचनमा १ लाख २८ हजार २१८ महिला, १ लाख २४ हजार ९६५ पुरुष र पाँच अन्य गरी २ लाख ५३ हजार १८८ मतदाता संख्या रहेकामा भदौ ५ गतेसम्म मतदाता नामावली दर्तापछि मतदाता संख्या वृद्धि भएर २ लाख ७२ हजार ४७७ पुगेको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार बर्दियामा पुरुष मतदाताभन्दा महिला मतदाता बढी छन् । वैदेशिक रोजगारीका कारण अधिकांश पुरुषहरू फोटोसहितको मतदाता नामावली दर्ता गर्न छुटेका कारण महिलाको संख्या बढी भएको हुन सक्ने बताइएको छ ।

कार्यालयको पछिल्लो तथ्यांक अनुसार बर्दिया प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ मा १ लाख ३९ हजार ३६२ मतदाता छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ अन्तरगतको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर-१ मा ७० हजार १९३ र क्षेत्र नम्बर-२ मा ६९ हजार १६९ मतदाता छन् ।

त्यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ मा १ लाख ३३ हजार २१५ मतदाता छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२ अन्तरगत प्रदेशसभा क्षेत्र नम्बर-१ मा ७० हजार ९५५ र क्षेत्र नम्बर-२ मा ६२ हजार १६० मतदाता रहेका छन् । बर्दियामा ६ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी ८ वटा स्थानीय तह छन् । बर्दियामा २ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्र कायम भएको छ ।

Leave A Reply

Your email address will not be published.