onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

थारु बस्तीमा अझै सकिएको छैन दशैँको रौनक, दिनदिनै नाचिन्छ सखिया र हुरदङ्वा

Sambad ADD long

बगनाहा, बर्दिया : बिहीबार कोजाग्रत पूर्णिमासंगै दशैँं सकिए पनि पश्चिम नेपालको थारु बस्तीलाई दशैँको अवसरमा नाचिने नाचको रौनकले अझै छोडेको छैन । बर्दिया सहित पश्चिम नेपालका दाङ, बाँके, कैलाली, कञ्चनपुर लगायतका जिल्लाहरुमा बसोबास गर्ने थारु समुदाय दशैंको बेला नाचिने हुरदङ्वा र सखिया नाचमा रमाइरहेका छन् ।

बर्दियाको बगनाहा, भुरिगाउँ, बारबर्दिया, राजापुर, बाँसगढी बाँकेको बैजनाथ, राप्तीसोनारी, कोहलपुर, खजुरा, शम्सेरगञ्ज दाङको लमही, तुल्सीपुर लगायतका थारु बस्तीमा सखिया, हुरदङ्वा, छोक्राजस्ता नाच प्रचलित छन् ।

केही वर्ष अघिसम्म मेला महोत्सवमा मात्र देख्न पाइने थारु समुदायका साँस्कृतिक नाचहरु हिजोआज भने दशैँ सुरु हुनुभन्दा पहिलेदेखि दशैँ सकिएको केही दिनसम्म गाउँघरमा देख्न सकिन्छ । युवा पुस्ताको आकर्षण शहरबजार तिर बढ्दा आफूहरुको सँस्कृति लोप हुन लागेकामा चिन्तित बुढापाकाहरु अहिले साँस्कृतिक नृत्यमा युवापुस्ताको बढ्दो आकर्षणले खुशी देखिन्छन् ।

पहिले पहिले बुढापाकाहरुको मात्र सहभागिता हुने थारु संस्कृतिका कार्यक्रमहरुमा अहिले बालकदेखि बृद्धसम्म सहभागी हुन्छन् । साँस्कृतिक नृत्यहरु मार्फत चाडपर्वमा रमाइलोका साथै संस्कृतिको जगेर्ना र समाजमा हुने नकारात्मक कार्यलाई निरुत्साहित गर्ने आफूहरुको योजना रहेको थारु अगुवा तथा ठाकुरबाबा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले बताउनुभयो ।

धान खेती सकेर दशैँसम्म कृष्ण चरित्रको कथा गाएर समूहमा सखिया नाच्ने गरिन्छ । सखिया नाचमा महिलाहरुले सेतो रंगको फरिया र रातो रंगको चोली र पुरुषहरुले सेतो रंगको धोती र रुची अनुसारको कमिज लगाउने गर्छन् । थारु बस्तीमा नाचिने नाचले सांस्कृतिलाई जगेर्ना समेत गरेको छ ।

२२ तालमा नाचिने सखिया नाच सखिया शब्दबाट गाउन सुरु गरिन्छ । यो नाचमा युवतीहरुले नाच्ने र युवकहरुले मादल बजाउने गर्छन् । सखिया नाचमा जति धेरै मादल बज्छ त्यति नै रौनकता थपिन्छ । थारु भाषामा सखीको अर्थ साथीसंगी हुन्छ । गाउँका सबै साथीसंगी मिलेर नाचिने भएकोले यसको नाम सखिया राखिएको थारु अगुवा लहनु थारुले बताउनु भयो ।

थारु नाच र सँस्कृतिले गाउँघरमा झन् उल्लास र लोकप्रियता बढाएको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताउनु भयो । दशैँमा नाचिने हुरदुग्वा नाचले झन् विशेष दशैँ बनाउने गरेको पाइन्छ । दशैँको पित्रहुवामा नाचिने हुरदङ्वा नाच स्थानीयहरु गाउँबाट सुरु भई नजिकै रहेको खोलामा गई सेलाउने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.